काठमाडौं — प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानमा समस्या देखिएको छ । मौसम बिग्रिएको र ‘इनरुट वेदर’ खराब भएको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको हो ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिक उडानमध्ये केही ‘डाइभर्ट’ भएका छन् भने भरतपुर र तुम्लिङटार विमानस्थलका उडान बन्द गरिएको छ । पोखरा विमानस्थलमा आगमन बन्द रहेकाले ‘डिपार्चर’ मात्रै सञ्चालनमा छ । विराटनगरबाट काठमाडौँ उड्ने श्री एयरलाइन्सको विमान डाइभर्ट गरिएको छ भने भैरहवाबाट काठमाडौँ उडेको सोही एयरलाइन्सको विमान भैरहवामा फर्काइएको छ ।
अन्तर्राष्ट्रिय उडानमा पनि प्रभाव परेको छ । नेपाल एयरलाइन्सको विमान भारतको नयाँ दिल्ली डाइभर्ट भएको छ भने इण्डिगो एयरको विमान नयाँ दिल्लीतर्फ डाइभर्ट गरिएको छ । एयर इण्डियाको विमान लखनऊतर्फ डाइभर्ट गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्यता दुई हजार ५०० मिटर मात्र रहेको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरी विस्तारै कमजोर हुँदै उत्तर–उत्तरपश्चिम दिशातर्फ सर्दै नेपाल नजिक आएको छ ।
महाशाखाका अनुसार यही कात्तिक १५ गतेसम्म बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित रहने छ । मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । महाशाखाले सबैमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



