पोखरा, – नेपाल र भारतबीच विद्युत आदान–प्रदान र प्रसारण प्रणाली सुदृढीकरणका विषयमा सात बुँदे सहमति भएको छ । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठक कात्तिक १७ र १८ गते (नोभेम्वर ३–४, २०२५) पोखरामा सम्पन्न भएको हो ।
बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा सम्पन्न भयो । बैठकमा दुवै देशबीचको विद्युत आदान–प्रदान, प्रसारण प्रणाली सुदृढीकरण र नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो ।
बैठकले देहायका विषयमा सहमति गरेको छः
१. चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइन — दुवै देशले आ–आफ्नो तर्फको विस्तृत परियोजना प्रतिवेदन (DPR) प्रस्तुत गरेका छन् । संयुक्त प्राविधिक टोलीले नोभेम्वर २०२५ भित्र संयुक्त DPR तयार गर्ने र उक्त प्रसारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने सहमति भएको छ ।
२. नयाँ बुटवल–गोरखपुर ४०० के.भी. लाइन — यसलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने र विद्युत आयात–निर्यात क्षमताबारे थप छलफलका लागि उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग १५ दिनभित्र बैठक गर्ने सहमति भएको छ ।
३. ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सitamढी लाइन — दुबै प्रसारण लाइनमार्फत विद्युत आदान–प्रदान क्षमताको पुनर्मूल्यांकन हुँदा नेपालले १,५०० मेगावाटसम्म निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ ।
४. निजगढ–मोतीहारी ४०० के.भी. डबल सर्किट लाइन — नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र त्यसका आधारमा दुवै देशले संयुक्त DPR तयार गर्ने सहमति भएको छ ।
५. लमही–लक्नउ ४०० के.भी. लाइन — नेपालतर्फको टर्मिनेशन बिन्दु लामही वा कोहलपुर हुने विषयमा संयुक्त अध्ययन गरी DPR तयार गर्ने सहमति भएको छ ।
६. ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. लाइनको Reconductoring — उच्च तापक्रम सहनसक्ने HTLS प्रविधि अपनाउने गरी DPR तयारी अघि बढाउने सहमति गरिएको छ ।
७. रक्सौल–परवानीपुर र रामनगर–गण्डक १३२ के.भी. लाइन — यी लाइनहरूको क्षमता अभिवृद्धिका लागि HTLS कन्डक्टरद्वारा प्रतिस्थापन गर्ने विषयमा संयुक्त अध्ययन गर्ने सहमति भएको छ ।
यस बैठकमार्फत नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई थप प्रभावकारी र दिगो बनाउने कार्ययोजना अघि बढेको नेपाल सरकारका ऊर्जा मन्त्रालयले जनाएको छ ।



