भोजपुर – जिल्लामा गत आर्थिक वर्षमा हिउँदे र वर्खे गरी ५१ हजार ९ सय मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लाभर दुई सिजनमा गरी तीन हजार २७२ हेक्टर क्षेत्रमा आलु खेती गरिएको थियो ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धनश्याम बरालका अनुसार विगतमा निर्वाहमुखी रूपमा सीमित किसानले मात्र आलु खेती गर्दै आएका थिए भने अहिले किसानहरू व्यावसायिक रूपमा यस पेशातर्फ आकर्षित भएका छन् । “जिल्लामा पछिल्ला वर्षहरूमा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ,” बरालले बताउनुभयो, “गत वर्ष ५१ हजार मेट्रिक टनभन्दा बढी उत्पादन हुँदै आलु किसानको राम्रो आम्दानीको स्रोत बनेको छ ।”
ज्ञान केन्द्रले उन्नत जातका बीउ वितरणसँगै जिल्लाका विभिन्न स्थानमा आलु पकेट क्षेत्र निर्धारण गरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
किसानहरूले वर्खे सिजनमा आलु उत्पादन बढी हुने बताएका छन् । ग्रामीण क्षेत्रसम्म सडक विस्तार भएपछि उत्पादनको बिक्रीमा सहजता आएको किसानहरूको अनुभव छ । टेम्केमैयुङ–५ मझौलेका किसान धनराज राईले सडक पुगेसँगै बजारसम्मको पहुँच सहज बनेको बताए ।
“पहिले आलु बेच्न पिठ्यूँमा बोकेर बेँसीसम्म लैजानुपथ्र्यो, अहिले ठेकेदारहरू गाडी लिएर घरमै आउँछन्,” राईले भने, । उनका अनुसार सडक विस्तारपछि किसानले उत्पादनको मूल्य समयमै पाउने र बजार पहुँच बनेपछि आलु खेतीप्रति आकर्षण झनै बढेको छ ।



