बाढीपहिरोको क्षतिबाट रु तीन अर्ब ७८ बराबरको बीमा दावी

काठमाडौं – गत असोज महिनामा परेको अविरल वर्षाका कारण देशभर बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ । उक्त कारण बीमा कम्पनीहरूमा हालसम्म रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको बीमा दावी परेको बीमा प्राधिकरणले जनाएको छ ।

समितिका अनुसार असोज १७ देखि १९ गतेसम्मको वर्षाबाट भएको क्षतिको लागि हालसम्म ४३४ वटा बीमा दावी आवेदन दर्ता भएका छन् । तीमध्ये सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुद्रिक बीमाका तीन वटा आवेदन परेका छन् ।

कुल ३७ जिल्लाबाट बीमा दावी दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी १९७ वटा आवेदन सुनसरी जिल्लाबाट परेको छ । त्यस्तै इलाममा ६०, काठमाडौँमा ८०, मोरङमा ९०, झापामा २०, पर्सामा ७१ र रौतहटमा २८ वटा दावी दर्ता भएको समितिले जनाएको छ ।

प्राधिकरणका अनुसार यसअघि गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दावी दर्ता भएको थियो भने असार महिनाको बाढीपहिरोका कारण रु ९८ करोड ५९ लाख बराबरको दावी परेको थियो ।

हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावी दर्ता भइरहेका छन् । प्राकृतिक जोखिमका घटनामा बृद्धिसँगै बीमा दावीमा समेत उल्लेख्य वृद्धि भएको समितिको निष्कर्ष छ ।