नेपालगञ्ज – नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना अगावै निर्माण सम्पन्न भएको छ । विसं २०७९ पुसमा सुरु गरिएको निर्माण कार्य २०८२ पुसमा सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माण कम्पनीले समयभन्दा दुई महिना पहिल्यै काम पूरा गरेको हो ।
राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाका अनुसार परियोजना निर्माण सम्पन्न भइसकेको र केही दिनभित्र निर्माण कम्पनीबाट औपचारिक रूपमा हस्तान्तरण गरिनेछ । हस्तान्तरणपछि नागरिक उड्डयन प्राधिकरणको विज्ञ टोलीले स्थलगत अनुगमन गरी अनुमोदन गरेपछि नयाँ भवनबाट सेवा सञ्चालन सुरु हुने तयारी भइरहेको छ ।
थापाले भने, “विज्ञ टोलीको निरीक्षणपछि पुरानो टर्मिनल भवनमा रहेका एक्स–रे मेसिनलगायतका उपकरणहरू सारेर करिब १५ दिनभित्र नयाँ भवनबाट सेवा सुरु हुनेछ । नयाँ टर्मिनल भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ, जसले आन्तरिक र बाह्य दुवै उडानका लागि सुविधा उपलब्ध गराउनेछ ।”
भ्याट बाहेक रु दुई अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ लागतमा निर्माण सम्पन्न भएको भवन सेमी–बेसमेन्टसहित तीन तल्ले संरचना हो । करिब पाँच हजार ७५ वर्गमिटर क्षेत्रफलमा फैलिएको टर्मिनल भवनमा यात्रु जाँच कक्ष १४ वटा, भिआइपी कक्ष तीन, बालखेल क्षेत्र (चिल्ड्रेन प्ले एरिया) एक, भन्सार तथा क्वारेन्टाइन जाँचका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ ।
बेसमेन्ट भाग व्यावसायिक प्रयोजनका लागि बनाइएको छ, जहाँ २४ वटा पसल रहनेछन् । भवनमा भविष्यमा अन्तर्राष्ट्रिय उडानको सम्भावना ध्यानमा राख्दै घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि छुट्टाछुट्टै यात्रु प्रवेश र प्रस्थान ढोका निर्माण गरिएको छ । नयाँ भवनको यात्रु वहन क्षमता प्रतिघण्टा ६२८ जनासम्म रहेको छ ।
टर्मिनल परिसरमा बगैँचा, पाँचदेखि १४ मिटर चौडाइका सडक, ढल निकास र वर्षाको पानी निस्कने नाला निर्माण गरिएको छ । साथै, विमान पार्किङका लागि एप्रोन क्षेत्र पनि तयार गरिएको छ, जहाँ एकैपटक एटिआर–७२ जहाज तीनवटा र ट्विन–अटर जहाज पाँचवटा पार्किङ गर्न सकिने सुविधा छ ।
नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि नेपालगञ्ज विमानस्थलको सेवाग्राही क्षमता, उडान व्यवस्थापन र यात्रु सुविधामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।



