मनास्लु आरोहणको नयाँ पदमार्गको खोजी

मनाङ – हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणका लागि नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु गरेको छ । गाउँपालिकाको समन्वयमा र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा नयाँ मार्गको प्रारम्भिक सर्वेक्षण कार्य अघि बढाइएको हो ।

हाल मनास्लु आरोहीहरू गोरखाको आरुघाट, सामागाउँ हुँदै पूर्वतर्फबाट आरोहण गर्छन् । तर नासोँ गाउँपालिकाले काठमाडौँबाट लमजुङको बेँसीसहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङसम्मको बाटोलाई वैकल्पिक आरोहण मार्गका रूपमा अध्ययन गर्न थालेको हो ।

गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार, सन् १९५६ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलो पटक भीमथाङ मार्ग हुँदै मनास्लु (८,१६३ मिटर) आरोहण गरेका थिए । तर पछि पदमार्ग क्षतिग्रस्त भएपछि आरोहण सामागाउँतर्फबाट थालिएको थियो ।

अहिलेको अध्ययनले भीमथाङतर्फबाट पुनः आरोहण सम्भव छ वा छैन भन्ने निर्धारण गर्नेछ । प्रारम्भिक अध्ययन टोलीका सदस्य कर्मा शेर्पाले मार्गमा हिमपात र पहिरोको जोखिम मूल्यांकन गर्न थप प्राविधिक अध्ययन आवश्यक रहेको बताए । “पहिलो चरणमा फोटो र भिडियो खिचेर ल्याएका छौँ, अनुभवी आरोहीको विश्लेषणपछि निष्कर्ष निकालिनेछ,” उनले भने ।

यदि भीमथाङतर्फको बाटो उपयुक्त ठहरिएमा यो मनास्लु बेस क्याम्पसम्म पुग्ने सबैभन्दा छोटो र सहज मार्ग हुने अध्यक्ष गुरुङको दाबी छ । उनका अनुसार, काठमाडौँबाट लमजुङको बेँसीसहर हुँदै तिल्चे गाउँसम्म सवारीसाधनमा पुग्न सकिन्छ, त्यसपछि गुवा, सुती खोला, याकखर्क हुँदै पैदल साढे दुई दिनमै मनास्लु बेस क्याम्पमा पुग्न सकिनेछ ।

भीमथाङ क्षेत्र (३,७०० मिटर) मा मात्रै ११ वटा होटल छन्, जसमा करिब ५०० जना सम्म अट्न सक्ने क्षमता रहेको छ । सम्पूर्ण मार्गमा करिब ३० वटा होटल सञ्चालनमा छन् ।

अध्यक्ष गुरुङले भने, “हामीले भीमथाङबाट मनास्लु आरोहणको सपना देखेका छौँ । यदि अध्ययनले सकारात्मक निष्कर्ष दियो भने यो मार्ग नेपालकै छोटो र किफायती आरोहण मार्गका रूपमा विकास हुनेछ ।”

हाल पनि केही आरोहीहरूले मनाङ मार्ग हुँदै मनास्लु आरोहण गर्दै आएका छन् । सर्वेक्षण सफल भएमा यस मार्गलाई औपचारिक आरोहण पदमार्गका रूपमा मान्यता दिने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।