सिन्धुली, – सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल (प्रदेश २–०१–००१ प २१४२ र मप्र.०२–००६ प ५८४१) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका–३ का २५ वर्षीय फुलबाबु धामीको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा दुधौली–३ का २६ वर्षीय विप्लव धामी, २७ वर्षीय वुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ती घाइतेहरू बोल्नसमेत नसक्ने अवस्थामा छन् ।
दुर्घटनापछि मप्र.०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–६ का २५ वर्षीय शेरबहादुर विष्टलाई नियन्त्रणमा लिइएको छ ।
घाइते चारै जनाको उपचार दुधौली नगर अस्पतालमा भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिए ।



