बाजुरा — भोटेकोशी नदीमा आएको भीषण बाढीमा बाजुराको हिमाली गाउँपालिकाका ८ जना नागरिक सम्पर्कविहीन भएको भन्दै गाउँपालिकाले खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।
हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भदौ ११ गते जिल्ला प्रशासन कार्यालय, बाजुरालाई पत्र पठाउँदै भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजीका लागि आवश्यक पहल गर्न अनुरोध गरेका हुन्।
गाउँपालिकाका अनुसार रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका हिमाली गाउँपालिकाका विभिन्न वडाका नागरिक सम्पर्कविहीन भएका हुन्। गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार बेपत्ता हुनेमा हिमाली–६ का बिसी पाण्डे (अन्दाजी ४७ वर्ष), चन्द्र सार्की (१८), आराम दाहाल (६१), विक्रम भण्डारी (३३), महेन्द्र रोकाया (३२), विष्णुमती रोकाया (अन्दाजी ४०), दिपक रोकाया (१९) र दिपक सार्की (नेपाल आर्मी) रहेका छन्।
गाउँपालिकाले बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ। साथै, सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक पहल गर्न आग्रह गरेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि बाजुराका नागरिकसमेत सम्पर्कविहीन भएको यसअघि सार्वजनिक विवरणमा उल्लेख गरिएको थियो। बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको र बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ।



