काठमाडौं – पशुपति क्षेत्रमा आगामी बाला चतुर्दशी पर्वका लागि आवश्यक तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत का कामलाई समन्वय गर्दै सरोकार भएका निकायहरूको सहभागितामा कार्य–विभाजन गरिएको कोषले जानकारी दिएको हो ।
दिवङ्गत पितृको सम्झनामा मङ्सिर २ गते मंगलबार रातभर दीप प्रज्वलन तथा त्यसको भोलिपल्ट बुधबार शतबीजारोपणलाई व्यवस्थित ढंगले सम्पन्न गर्न तयारी गरिँदैछ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृको स्मरणमा दीप बाली, चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहिआएको छ ।
मन्दिर परिसरका चारै ढोका, पश्चिम मूल प्रवेशद्वार तथा बाहिरी क्षेत्रहरूमा दीप प्रज्वलनको व्यवस्था मिलाइएको छ । जाग्राम बस्न पालहरू तथा अन्य उपलब्ध स्थानहरू भक्तजनलाई निःशुल्क उपलब्ध गराइने भन्दै कुनै पनि प्रकारको शुल्क उठाउन नपाइने कडा निर्देशन जारी गरिएको कोषका निमित्त सदस्य–सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।
शतबीज छर्ने क्रममा मन्दिर प्राङ्गण, ढुङ्गा छापिएको वा पीच गरिएको स्थानमा नछर्न तथा सम्भव भएसम्म उम्रन सक्ने खाली स्थानमै छर्न भक्तजनलाई अनुरोध गरिएको छ । साथै, यस अवसरमा मादक पदार्थ तथा नशालु पदार्थको बिक्री–वितरण र उपभोग पूर्ण रूपमा निषेध गरिएको छ ।
सुरक्षा, स्वास्थ्य र व्यवस्थापनका लागि विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ । खोजखबर कक्ष, नेपाल टेलिकम र एनसेलमार्फत प्रभावकारी सूचना व्यवस्थापन, प्रहरी शिविरसहित एम्बुलेन्स सेवा र स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। खानेपानी तथा नुहाउने व्यवस्था काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरी उपलब्ध गराइनेछ ।
कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुप लगायत बाला चतुर्दशी मार्गका जंगल क्षेत्रमा पर्याप्त बत्तीको व्यवस्था गरिएकाले ‘लोडसेडिङ’ नहुने व्यवस्था नेपाल विद्युत् प्राधिकरणको सहयोगमा मिलाइएको कोषले जनाएको छ ।


