काठमाडौँ–१० मा नयाँ स्पोट्र्स पार्कको शिलान्यास

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले खेलकुद र सामाजिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ स्पोट्र्स पार्क निर्माणको काम सुरु गरेको छ । पार्क निर्माणको शिलान्यास वडा अध्यक्ष रामकुमार के.सी.ले गरेका छन् ।

निर्माणको लागि प्रयोगमा नआएको सार्वजनिक जग्गा महानगरपालिका–१० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा छुट्याइएको छ । पार्क निर्माणको लागि ५ रोपनी १० आना २ पैसा अर्थात २,८८० वर्गमिटर क्षेत्रफलको जमिन प्रयोग हुने योजना छ ।

उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले कार्यान्वयन गर्ने यस कामका लागि बोलपत्र आह्वान गरिएकोमा १२ वटा कम्पनीले आवेदन दिएका थिए। हान्स–चपुर ज्वाइन्ट भेन्चरले निर्माण जिम्मेवारी पाएको छ ।

पार्क निर्माणको कुल लागत अनुमान भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको छ भने कार्यादेश रकम भ्याट र पीएसबाहेक १ करोड ८८ लाख ९१ हजार रुपैयाँ तोकिएको छ। निर्माण कार्यको सुरुवात कार्तिक १८ बाट भइसकेको छ र निर्माण अवधि २०८३ कार्तिक १८ गतेसम्म रहनेछ।

पार्कभित्र खुला व्यायामशाला, १२८ वर्गमिटर क्षेत्रफलको ब्याटमिन्टन कोर्ट र ९२८.५३ वर्गमिटरको फुटसल मैदान निर्माण हुने छ। यसले स्थानीय बासिन्दालाई खेलकुद र स्वास्थ्य गतिविधिमा संलग्न हुन र सामाजिक कार्यक्रम सञ्चालन गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।