मर्मतपछि सञ्चालनमा आयो रसुवागढी जलविद्युत्

रसुवा – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा रसुवामा निर्माण गरिएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना बाढीपछिको मर्मत तथा पुनस्र्थापनापछि आंशिक रूपमा सञ्चालनमा आएको छ । आयोजना विद्युतगृहमा रहेका तीन युनिटमध्ये एउटा युनिट शनिबारदेखि सञ्चालनमा ल्याइएको हो, जसबाट हाल ३७ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।
पुर्याएको

गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनका कारण आएको बाढीले आयोजनाको बाँधलगायत हेडवक्र्स संरचनामा ठूलो क्षति पु¥याएको थियो । हेडवक्र्स क्षेत्रमा पानीसँगै बगेर आएको काठ, झार, बोटबिरुवा रोक्ने मेसिन, गेटलगायत उपकरण बगाएका थिए भने नियन्त्रण भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । ठूलो आकारका ढुंगाले संरचनामा क्षति पु¥याउनुका साथै पानीलाई सुरुङमा पठाउन बनाइएका संरचना भत्किएका थिए । साथै, उत्पादनपछि पानी फर्काउने टेलरेस क्षेत्रमा पानी जमेर टर्वाइन रहेको तला पूर्ण रूपमा डुबेको थियो ।

बाढीका क्रममा आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई हेडवक्र्स क्षेत्र र आवास क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो भने स्याफ्रुबेँसीदेखि आयोजनास्थल जाने मुख्य राजमार्ग विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध बनेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार क्षतिग्रस्त हेडवक्र्सको मर्मतपछि नदीको पानी अस्थायी रूपमा पथान्तरण (डाइभर्सन) गरी एक युनिट सञ्चालनमा ल्याइएको हो । उनले बाँकी दुई युनिट पनि एक महिनाभित्र सञ्चालनमा ल्याइने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायामअगावै सम्पन्न गर्ने लक्ष्यसहित पुनर्निर्माण कार्य भइरहेको जानकारी दिए ।

“प्राधिकरण, चिलिमे तथा रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी र कर्मचारीको अथक प्रयासले क्षति पुगेका संरचना मर्मत गरी आयोजना फेरि सञ्चालनमा ल्याउन सफल भएका छौं,” निर्देशक सिलवालले भने, “आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि हिउँद यामको विद्युत माग व्यवस्थापन गर्न केही सहज हुनेछ ।”

यो आयोजनाबाट १६ पुस २०८१ देखि व्यवसायिक रूपमा विद्युत उत्पादन सुरु गरिएको थियो । तर, असारमा आएको बाढीपछि उत्पादन पूर्ण रूपमा बन्द भएको थियो । आयोजना पूर्ण सञ्चालनमा आएपछि वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । उक्त विद्युत बिक्रीबाट कम्पनीले वार्षिक करिब ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ ।

बाढीले गम्भीर क्षति पु¥याएको रसुवागढी आयोजना पुनः सञ्चालनमा आउनु राष्ट्रिय विद्युत आपूर्तिमा सकारात्मक संकेतका रूपमा हेरिएको छ ।