काठमाडौँ – काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ । फिल्डमा देखिएका समस्या समाधान, अनुगमन र सहजीकरणका लागि प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई जिम्मेवारी तोकिएको छ ।
सडक विभाग, महानगरपालिकालगायतका निकायबाट सहमति नहुँदा तथा काम सम्पन्नपछि सडक मर्मत नहुने गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
मन्त्री घिसिङले आगामी वर्षायाम सुरु हुनुअघि काठमाडौंभित्रको तार भूमिगत गर्ने काम सम्पन्न गर्न निर्देशन दिँदै पुतलीसडकसहित बाँकी क्षेत्रको काम तत्काल अघि बढाउन जोड दिए । साथै, जहाँ काम सकिएको छ ती स्थानमा इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी ओभरहेड तार हटाउन तत्कालतर्फ अग्रसर हुन आग्रह गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी काम अघि बढाइने जानकारी दिए । उनका अनुसार, भूमिगत तारबाट विद्युत आपूर्ति सुरु भइसकेका क्षेत्रमा ओभरहेड लाइन क्रमशः हटाइँदै जानेछ ।
प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने योजनाअनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम थालेको थियो । दोस्रो चरणमा काठमाडौंका बाँकी क्षेत्र, तेस्रोमा ललितपुर र भक्तपुरका सहरी क्षेत्र तथा चौथो चरणमा पोखरा र भरतपुरमा काम अघि बढ़ाइएको छ । हाल काठमाडौं उपत्यकाभित्रको निर्माण उचयनचभकक करिब ८० प्रतिशत पुगेको छ ।
यस योजनाअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टेजका भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । यसले तारको जालोले कुरूप बनेको सहरको दृश्य हटाएर सौन्दर्य बढाउने, विद्युत् वितरण प्रणालीलाई सुरक्षित बनाउने र आधुनिक बनाउने विश्वास लिइएको छ ।
भूमिगत काम गर्दा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको र राति काम गरेर ट्राफिक तथा पैदल यात्रीलाई कम प्रभाव पर्ने व्यवस्था मिलाइएको छ । सडक खन्दा उठ्ने धूलो नियन्त्रणका उपाय अपनाइएको र क्षति पुगेको सडक १० दिनभित्र मर्मत गरिसक्ने व्यवस्था गरिएको छ ।



