बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

सुनसरी – बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष पाँच हजार ३९२ मेट्रिकटन कम धान उत्पादन भएको हो ।

गत वर्ष जिल्लामा दुई लाख १७ हजार ६८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष दुई लाख ११ हजार ६७६ मेट्रिकटन मात्रै उत्पादन भएको छ । हाल जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार गत कात्तिक १३ र १४ गते परेको अविरल बेमौसमी वर्षाले करिब १४ हजार हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेपछि कुल उत्पादनमा गिरावट आएको हो ।

“सुरुमा पानी नपरेर रोपाइँ ढिला भए पनि अनुकूल मौसमका कारण उत्पादन बढ्ने अपेक्षा गरिएको थियो । यता रोगकिराको सङ्क्रमण पनि न्यून देखिएको थियो । तर धान पाकेर काट्न लाग्दा परेको बेमौसमी वर्षाले ठूलो क्षति पु¥याएको छ,” उनले भने, ।

यहाँका अधिकांश किसानले राधा, बारतरहरा, सावित्री, सुनौलो सुगन्ध, लोकतन्त्र, कालो पोके, लोकनाथ, राम र बास्मती जातका धानको खेती गर्दै आएका छन् । सुनसरीको बराहक्षेत्र, रामधुनी, कोशी, इनरुवा, देवानगञ्ज, बर्जु र दुहबी क्षेत्रहरू जिल्लाका प्रमुख धान उत्पादन क्षेत्रका रूपमा रहेका छन् ।