नागढुङ्गा–नौबिसे–मलेखु सडक दैनिक पाँच घण्टा आंशिक बन्द हुने

काठमाडौँ – सडक निर्माण कार्यमा अपेक्षित प्रगति हुन नसकेपछि सरकारले त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक रूपमा बन्द गरी कामलाई तीव्रता दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रूपमा सूचना जारी गर्दै यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक आवागमन बन्द गरिने जनाएको छ ।

सवारीसाधनको निरन्तर आवागमनका कारण निर्माण कार्यले गति लिन नसकेको भन्दै निर्माण कम्पनी र आयोजनाले सडक आंशिक बन्द गरेर काम अघि बढाउन आग्रह गरेका थिए । सोहीअनुसार बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन रोक्ने निर्णय भएको हो ।

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे खण्ड कालोपत्रसहित स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको बताइएको छ । काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डलाई उच्च प्राथमिकताका साथ कालोपत्र गरिँदैछ । यो खण्ड साँघुरो भएकाले एकै पटक भारी उपकरण र ढुवानी साधन सञ्चालन गर्नुपर्ने हुँदा सडक बन्द गरी काम गर्न लागिएको जनाइएको छ । यस्तै, धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण भएकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने तयारी भइरहेको छ ।

सडक बन्द रहने समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछन् भने मुग्लिङबाट काठमाडौँतर्फ आउने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी, बैरेनी र मासटारमा रोकिने व्यवस्था गरिएको छ ।

अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन र सुरक्षा निकायका सवारीसाधनलाई भने ट्राफिक प्रहरीको सहजीकरणमा आवागमन अनुमति दिइने सूचनामा उल्लेख छ । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा सीतापाइला–भिमढुङ्गा, रामकोट–धार्के तथा सामाखुसी–टोखा–छहरे सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्नेछन् ।

सडकमा रोकिने सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र गन्तव्यतर्फ जान दिइने भएकाले यात्रु तथा चालकलाई आफ्नो यात्रा समय मिलाएर हिँड्न सम्बन्धित निकायले आग्रह गरेको छ ।