काठमाडौँ — काठमाडौँ महानगरपालिकाले रैथाने तथा मौलिक खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘रैथाने, मौलिक खाद्य स्वच्छता मेला–२०८२’ आयोजना गर्ने भएको छ । महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा आगामी मङ्सिर २८ गते, महानगरको स्थापना दिवसको पूर्वसन्ध्यामा मेला सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
महानगरका अनुसार स्वच्छ खानपान, सांस्कृतिक पहिचान र स्थानीय सम्पदाको संरक्षणलाई एकीकृत रूपले प्रस्तुत गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । मेला नक्सालस्थित नन्दकिशोर बगैँचा (नारायण चौर) मा आयोजना हुने छ ।
मेलामा काठमाडौँ महानगरका ३२ वटै वडाबाट कम्तीमा एक–एक रैथाने खाद्य परिकार राखिने व्यवस्था मिलाइएको महानगरले जनाएको छ । स्थानीय पहिचान, मौलिक स्वाद र खाद्य स्वच्छता प्रवद्र्धनका माध्यमबाट महानगरको सांस्कृतिक विविधता उजागर गर्ने मेलाको उद्देश्य रहेको बताइएको छ ।



