काठमाडौँ महानगरभित्रका विद्यालय क्यान्टिन दर्ताविहीन, स्वच्छता अवस्था दयनीय

काठमाडौं – काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न शिक्षण संस्थामा सञ्चालन भइरहेका क्यान्टिनहरू व्यवसायका रूपमा कतै पनि दर्ता नभएको पाइएको छ । लैनचौरस्थित अमृत साइन्स क्याम्पस, विद्या गृह तथा जनकनाथ स्मृति माध्यमिक विद्यालय, बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय र शंखमुलस्थित केएमसी स्कूलमा गरिएको अनुगमनमा ती क्यान्टिनमध्ये कुनै पनि दर्ता नभएको पुष्टि भएको हो ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले खाद्य सेवासँग सम्बन्धित विभिन्न क्षेत्रको नियमित अनुगमन गर्दै आएको छ । हालैको अनुगमनमा विद्यालय क्यान्टिनहरूमा स्वच्छताको अवस्था कमजोर, खानाको गुणस्तरमा कमी, भान्सा व्यवस्थापन अव्यवस्थित र खाद्य सामग्रीको भण्डारणमा समस्या देखिएको अनुगमन टोलीले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले क्यान्टिनहरूको समग्र स्वच्छता अवस्था दयनीय रहेको बताउँदै विद्यालयहरू स्वयं नमूना हुनुपर्ने ठाउँमै बेवास्ता देखिनु चिन्ताजनक भएको टिप्पणी गरे ।

अनुगमनका क्रममा व्यवस्थापकहरूले सुधार गर्ने आश्वासन दिए पनि स्वच्छता र व्यवस्थापनसम्बन्धी प्रश्नमा स्पष्ट जवाफ दिन नसकेको टोलीले जनाएको छ ।

अनुगमन टोलीले सरसफाइ सामान्य स्तरमै सीमित रहनु, तयारी खाद्यवस्तु खुला राख्नु, खाना पकाउने र भाँडा माझ्ने ठाउँ एउटै हुनु जस्ता साझा समस्यामा तत्काल सुधार गर्न निर्देशन दिएको छ ।