मुग्लिन–पोखरा सडक सुधारले गति लियो, पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

तनहुँ — मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा लामो समयपछि कालोपत्र कार्य थालिएको छ । पहिरोको उच्च जोखिमका कारण रोकिएको यो खण्डमा अहिले दुवै तर्फको सडक सतह कालोपत्र गर्न सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।

सडकछेउमा बनेको पर्खाल पहिरोले भत्काएपछि कालोपत्र रोकिएको भए पनि अब दुई–दुई लेनमा क्रमशः कालोपत्रको काम अघि बढाइने बताइएको छ । पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको छ ।

३८.८८ किलोमिटर लम्बाइको यस पश्चिम खण्डमध्ये ३७.४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किलोमिटर चार लेन र ७.७९ किलोमिटर दुई लेन सडक कालोपत्र सम्पन्न भएको छ ।

सडकसँगै संरचना निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ । १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माण भइरहेको छ । गत आर्थिक वर्षमा लक्ष्यअनुसार २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकोमा २३.०६ किलोमिटर कालोपत्र भएको छ । सोहि वर्षका लागि लक्षित ११ मध्ये ११ वटै पुल निर्माण पूरा भइसकेका छन् ।

छैसठ्ठी कल्भर्टमध्ये ६५ र ५१.५ किलोमिटर नाला निर्माण गर्ने लक्ष्यमध्ये ४५.२ किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिए ।

विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम विसं २०८२ पुस १६ गतेसम्म सक्ने म्याद छ । रु सात अर्ब ४० करोड लागतमा एनहुई केयुएन हाइवे एन्ड ब्रिजले ठेक्का लिएको हो ।