कुश्मा – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालन गरिएको एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाले सेवा लिएका छन् ।
कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजनामा तथा सेभ द हार्ट र नेपाल कार्डियोको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा चार सय ५० जनाभन्दा बढीको मुटु परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये पाँच जनामा जटिल समस्या देखिएकाले थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौँ रेफर गरिएको कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलक रिमालले जानकारी दिए ।
आर्थिक अभावका कारण मुटुसम्बन्धी समस्या हुँदाहुँदै उपचार गराउन नसकेका ग्रामीण नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो । शिविरमा कुश्मानगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमकी जिल्ला स्याङ्जाबाट समेत बिरामीको सहभागिता रहेको थियो ।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा डा. सुमन अधिकारी, डा. सुतप यादव, बोधराज गौतमलगायतको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो । बिरामीलाई मुटुरोगसम्बन्धी परामर्श र परीक्षणका साथै निःशुल्क इसिजी, इको कार्डियोग्राफी तथा औषधि वितरण गरिएको थियो ।
निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बिरामीलाई ठूलो राहत मिलेको स्थानीय रमेश पौडेलले बताए । शिविरबाट विशेषगरी विपन्न, दलित तथा वृद्धवृद्धा लाभान्वित भएका उनको भनाइ छ ।



