किसानलाई अनुदानमा गहुँको बीउ

काठमाडौं – मटिहानी नगरपालिका ले ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेस क्षेत्रमा गहुँ बाली लगाउने उपयुक्त समय भइरहेका बेला भरपर्दो बीउ नपाएर हैरानी खेप्दै आएका किसानका लागि नगरपालिकाको यो पहल राहतको विषय बनेको छ ।

मटिहानी–१ धिरापुरका किसान लालबाबु मण्डलका अनुसार यहाँको माटो र हावापानीमा राम्रो फस्टाउने उन्नत जातको बीउ सहुलियतमा उपलब्ध भएपछि किसानलाई समयमा गहुँ छर्न सहज भएको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने भए पनि हरेक वर्ष गुणस्तरीय बीउको अभाव किसानको प्रमुख समस्या बन्दै आएको थियो ।

नगरपालिकाले कृषि उत्पादन बढाउने र आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुसार पछिल्ला पाँच वर्षदेखि मुख्य बाली लगाउने समयमा बीउ, मलखाद तथा कृषि उपकरण किसानलाई उपलब्ध गराउँदै आएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

“गहुँ मात्र होइन, धान, तरकारी र मखान लगाउने बेलामा पनि बीउ, मलखाद र कृषि उपकरण सहुलियतमा दिँदै आएका छौँ । यसले किसानको उत्पादन र आयआर्जन बढाउन सहयोग पुगेको छ,” नगरप्रमुख मण्डलले भने ।

नगर कृषि शाखाका अनुसार अहिले गहुँ बाली लगाउने उपयुक्त समय भएकाले वडावडामा किसानको माग सङ्कलन गरेर उन्नत जातको बीउ व्यवस्थापन गरिएको हो । कृषि शाखा प्रमुख सन्ध्या साहका अनुसार यसपालि करिब पाँच सय किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

“बीउ वितरण धमाधम भइरहेको छ । दुई दिनदेखि किसानको लामो पङ्क्ति लागेको छ,” उनले बताए । बीउ वितरण पुसको पहिलो सातासम्म जारी रहने नगर कृषि शाखाले जनाएको छ ।

मटिहानी–८ की किसान शान्तिदेवीका अनुसार बाली लगाउने बेला समयमा भरपर्दो बीउ नपाउँदा खेती प्रभावित हुने गरेको थियो । नगरपालिकाले सबै बालीको सिजनमा सहुलियतमा बीउको प्रबन्ध गर्न थालेपछि किसानलाई ठूलो राहत मिलेको उनको भनाइ छ ।

खेतीपाती नै जीवनयापनको मुख्य आधार रहेका मधेसका जिल्लामा स्थानीय सरकारले बीउ, मलखाद र कृषि उपकरणमा सहयोग गर्नुपर्ने किसानको अपेक्षा छ । मटिहानी नगरपालिकाले समयमै गरेको यस्तो पहल अन्य स्थानीय तहले पनि अनुकरण गर्नुपर्ने किसानहरूको भनाइ छ ।