काठमाडौं – काठमाडौँ महानगरपालिकाले ‘महानगर अनुसन्धान शोधवृत्ति’ कार्यक्रमअन्तर्गत यस वर्ष १० वटा क्षेत्रगत विषयमा अनुसन्धान गर्न शोधकर्तालाई आव्हान गरेको छ । अनुसन्धानको परिणामसँग नीतिगत निर्णय, कार्यान्वयन तथा उपयोगिताको प्रत्यक्ष सम्बन्ध रहने, पूर्वाधार र सामाजिक विकासमा आधारित तथा आवश्यकतामा केन्द्रित परियोजनालाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।
अनुसन्धानबाट प्राप्त तथ्यले काठमाडौँ सहरको सन्तुलित, एकीकृत र सर्वाङ्गीण विकासका लागि नीति, योजना, कार्यक्रम तथा बजेट विनियोजन प्रक्रियालाई तथ्य र आवश्यकतामा आधारित बनाउन सहयोग पु¥याउने उद्देश्य रहेको महानगरको भनाइ छ ।
महानगरपालिकाले इतिहास, कला, संस्कृति, भाषा, सहरी योजना, वास्तुकला, यातायात, भौतिक पूर्वाधार, जनसांख्यिकीय तथा समाजशास्त्रीय अध्ययनलगायत विषयमा विज्ञता हासिल गरेका शोधकर्तामार्फत अनुसन्धान गराउँदै आएको छ। यस वर्षका लागि छनोट गरिएका १० विषयमा सहरी सुशासन, सांस्कृतिक विविधता, गुणस्तरीय सहरी बसोबास, नवप्रवर्तन, सहरी यातायात पूर्वाधार, वातावरण तथा जलवायु उत्थानशीलता, सामाजिक समावेशीकरण, शिक्षा तथा सांस्कृतिक आदानप्रदान, सुरक्षा–स्वास्थ्य–कल्याण र तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकास समावेश छन् ।
शोधवृत्तिका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा दुई वर्षको अनुसन्धान, अध्यापन वा विषयगत अनुभव भएका व्यक्तिले बढीमा १५ पृष्ठको प्रस्ताव पेश गर्नुपर्नेछ । अनुसन्धान अवधि छ महिनाको हुनेछ र यस अवधिमा चार पटक प्रस्तुतिकरण गर्नुपर्ने व्यवस्था छ। उमेरको हद नलाग्ने महानगरले जनाएको छ ।
प्रत्येक विषयमा एक जना शोधकर्ता छनोट गरिनेछ । छनोट भएका शोधकर्तालाई करसहित १ लाख ५० हजार रुपैयाँ चार किस्तामा उपलब्ध गराइनेछ । अध्ययन प्रस्ताव स्वीकृत भएपछि २० प्रतिशत, मध्यावधि प्रस्तुतिकरणपछि ३० प्रतिशत, मस्यौदा प्रतिवेदनपछि ३० प्रतिशत र अन्तिम प्रतिवेदन प्रस्तुत गरेपछि बाँकी २० प्रतिशत भुक्तानी गरिनेछ ।
यसअघि सम्पन्न संस्करणहरूमा कृत्रिम बौद्धिकता, सहरी यातायात, प्लास्टिक फोहोर व्यवस्थापन, सहरी कृषि, जलवायु जोखिम, सार्वजनिक स्वास्थ्य र सहरी योजना जस्ता विविध विषयमा अनुसन्धान सम्पन्न भइसकेका छन् ।
शोधवृत्तिमा सहभागी हुन इच्छुक योग्य व्यक्तिहरुले तोकिएको लिंकमार्फत आवेदन दिन सक्नेछन् ।



