‘स्थानीय पाठ्यक्रमले पहिचान र मौलिकता सुरक्षित गर्छ’, यसलाई बालमैत्री बनाउन आवश्यकता : उपप्रमुख डंगाल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले स्थानीय भाषासम्बन्धी पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ । शिक्षा विभागले विषय विज्ञहरूको समूह गठन गरी पाठ्यपुस्तक र पाठ्यक्रम पुनःलेखन तथा परिमार्जनको कार्य औपचारिक रूपमा थालेको हो ।

बिहीबार नेपाल भाषाका पाठ्यक्रम तथा पाठ्यपुस्तक संशोधन समितिका पदाधिकारी र विषय विज्ञसँगको बैठकमा उपप्रमुख सुनिता डंगालले सिकाइ प्रक्रियालाई निर्देशित गर्ने पाठ्यपुस्तक बालमैत्री र प्रभावकारी बनाउन आवश्यकता देखिएको औंल्याइन् ।

उपप्रमुख डंगालले स्थानीय भाषा शिक्षण केवल कक्षा सञ्चालन र परीक्षा लिने प्रक्रियासम्म सीमित नभई पहिचान, मौलिकता र रैथाने समुदायको संस्कृति संरक्षणसँग जोडिएको बताइन् । “यो उद्देश्य पूरा गर्न सक्षम पाठ्यपुस्तक आवश्यक छ,” उनले भनिन् ।

उनले शिक्षा विभागलाई Nepal Bhasa अध्यापन गर्ने शिक्षक–शिक्षिकाको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम प्राथमिकतामा ल्याउन निर्देशन दिईन् । सामुदायिक विद्यालयका प्रशिक्षकहरूलाई तालिम दिइसकिएको उल्लेख गर्दै, यसपटक संस्थागत विद्यालयका शिक्षकहरूलाई लक्षित गरी तालिम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिईन् ।

महानगरपालिकाले विकास गरेको स्थानीय पाठ्यक्रमअनुसार कक्षा १ देखि ८ सम्म नेपाल भाषा विषय ‘येँ देय् म्हसिके’ (काठमाडौँलाई चिनौँ) पढाइँदै आएको छ । यससँगै तामाङ भाषाको पाठ्यपुस्तक पनि सञ्चालनमा छ ।

यी विषयको मूल्यांकनमा कक्षा ४ र ५ मा ७५ अङ्क अभ्यासगत तथा २५ अङ्क सैद्धान्तिक व्यवस्था छ । कक्षा ६, ७ र ८ मा भने ५०–५० अङ्क अभ्यासगत र सैद्धान्तिक मूल्याङ्कन गरिदै आएको छ ।

स्थानीय पाठ्यपुस्तकमा मौलिक नाम, धार्मिक–सांस्कृतिक पक्ष, जात्रा, चाडपर्व, संस्कार–संस्कृति, काठमाडौँका प्रमुख जाति नेवार समुदायको जनजीवन, कला, सीप, स्वास्थ्य, सरसफाइ, रहनसहन, भाषा, लिपि तथा परम्परागत खेल जस्ता विषयहरूलाई चित्र र सांकेतिक प्रस्तुतीकरणसहित समेटिएको छ ।

महानगरले यो संशोधनमार्फत स्थानीय भाषा शिक्षणलाई प्रभावकारी, जीवनपरक र पहिचान–अनुकूल बनाउने लक्ष्य लिएको छ ।