काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न राजनीतिक तथा संगठनात्मक विषयमा सातबुँदे सहमति भएको छ ।
प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै ‘शुभप्रभात’ लेखेका थिए । उनीहरूबीच आज बिहान सहमति भएको हो । सहमतिपत्रमा रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् ।
सार्वजनिक गरिएको सहमतिअनुसार, नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागलाई यथोचित रूपमा सम्बोधन गर्ने विषयमा सहमति भएको छ ।
सहमतिको अर्को महत्वपूर्ण बुँदामा रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह रहने उल्लेख गरिएको छ ।
त्यस्तै, सहमतिपछि स्थापित हुने राजनीतिक दलको नाम, चुनाव चिह्न तथा पार्टी कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा रहने सहमति भएको छ । पार्टीको संगठनात्मक संरचनामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ ।
रास्वपा र काठमाडौँ महानगर प्रमुखबीच भएको यस सहमतिलाई समसामयिक राजनीतिक घटनाक्रममा महत्वपूर्ण मानिएको छ ।



