अत्यधिक चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको भीड

मुस्ताङ – अत्यधिक चिसोका बाबजुद मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागिरहेको छ । समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा चिसो बढे पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए ।

उनका अनुसार अघिल्ला वर्षहरूमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने मुक्तिनाथ आउने श्रद्धालुहरूको सङ्ख्या स्थिर रहेको छ । हाल मन्दिर क्षेत्रमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने गरेको छ, जसका कारण स्थानीयको जनजीवन भने प्रतिकूल बनेको छ ।

भुसालका अनुसार हाल मुक्तिनाथ मन्दिरमा दैनिक औसत एक हजार ५०० जना दर्शनार्थी पुग्ने गरेका छन् । मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन तथा कुण्डमा स्नान गरी दर्शन गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

चिसोका कारण स्वास्थ्य समस्या देखिन सक्ने भएकाले मुक्तिनाथ विकास समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । दर्शनार्थी तथा पर्यटकको स्वास्थ्य अवस्थाको नियमित निगरानी र आवश्यक हेरचाह गरिँदै आएको समितिले जनाएको छ ।

चिसो मौसममा पनि पर्यटकको आवागमन निरन्तर रहँदा यहाँको होटल व्यवसायसमेत फस्टाएको छ । मुक्तिनाथमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन भइरहेको छ, जसमा विशेष गरी भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिन्छ ।

हुम्लाबाट मुक्तिनाथ दर्शनका लागि आउनुभएका सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । “मुक्तिनाथको महिमा र यसको चर्चा धेरै सुनेको थिएँ, त्यसैले यहाँ आउने इच्छा जाग्यो,” उनले भने, । यस्तै, जाजरकोटबाट आएका देवबहादुर रोकायाले धार्मिक तपोभूमिमा आस्था र विश्वासका साथ दर्शन गर्न आएको बताए ।

पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज बनेसँगै मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म दुई लाख तीन हजार २९२ जना आन्तरिक तथा ४८ हजार १०९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।