पोखरा महानगरको प्रोत्साहनपछि तरबुजाखेतीतर्फ किसानको आकर्षण बढ्दै

काठमाडौं – पोखरा महानगरपालिकाले किसानको आयआर्जन बढाउने उद्देश्यले तरबुजाखेतीलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्ने कार्यक्रम अघि बढाएको छ । पछिल्ला वर्षमा महानगरका विभिन्न क्षेत्रमा तरबुजाखेती विस्तार हुँदै गएकाले यसलाई व्यवस्थित र दिगो बनाउन अनुदानसहितका कार्यक्रम सञ्चालन गरिएको हो ।

पोखरा महानगरपालिकाको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाका अनुसार अघिल्लो वर्ष वडा नं १३, १४ र ३३ लगायतका क्षेत्रमा करिब दुई सय रोपनी जमिनमा तरबुजाखेती गरिएको थियो । सो अवधिमा झण्डै दुई करोड रुपैयाँ बराबरको कारोबार भएको उनले जानकारी दिए । “तरबुजाखेतीले किसानलाई राम्रो आम्दानी दिन थालेपछि महानगरपालिकाले यसलाई व्यावसायिक रूपमा नै अघि बढाउने योजना बनाएको हो,” उनले भने, ।

यस वर्ष तरबुजाखेती गर्न चाहने किसानलाई बीउ तथा मल्चिङ सामग्रीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने कार्यक्रम महानगरपालिकाले ल्याएको छ । यसले किसानलाई उत्पादन लागत घटाउन सहयोग पुग्ने र खेतीतर्फ थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

अघिल्लो वर्ष वडा नं १३ मा मात्रै करिब १०० रोपनी क्षेत्रफलमा तरबुजाखेती गरिएको थियो । उत्पादक किसान र उपभोक्तालाई एकै ठाउँमा जोड्ने उद्देश्यले सो वडामा तरबुजा मेलासमेत आयोजना गरिएको थियो । महानगरपालिकाले किसानको उत्पादनको मूल्य सुनिश्चित गर्न न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकेको छ ।

महानगरपालिकाले समुदायसँगको सहकार्यमा यस वर्ष तरबुजाका विभिन्न प्रजातिको परीक्षण गर्ने तयारीसमेत गरेको छ । हाल पोखरामा मुख्यतः सरस्वती जातको तरबुजा खेती हुँदै आएको कृषि विकास शाखाले जनाएको छ ।

तरबुजाखेती विस्तारसँगै स्थानीय उत्पादनको प्रयोग बढ्ने, आयातमा निर्भरता घट्ने र किसानको आर्थिक अवस्था सुदृढ हुने विश्वास महानगरपालिकाले लिएको छ ।