डाक्नेश्वरी नगरपालिकाले करार सेवामा ४ कर्मचारी माग्यो

सप्तरी — डाक्नेश्वरी नगरपालिकाले करार सेवामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । नगर कार्यपालिकाको कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा चार जना कर्मचारी माग गरेको हो ।

नगरपालिकाले खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने गरी सूचना प्रविधि अधिकृत, मनोसामाजिक परामर्शकर्ता र रिटर्नी स्वयंसेवक पदका लागि दरखास्त आह्वान गरेको जनाएको छ । प्रकाशित सूचनाअनुसार सूचना प्रविधि अधिकृत पदमा एक जना, रिटर्नी स्वयंसेवक पदमा दुई जना तथा मनोसामाजिक परामर्शकर्ता पदमा एक जना कर्मचारी नियुक्त गरिनेछ ।

मनोसामाजिक परामर्शकर्ता पदका लागि भने महिलाबाट मात्र आवेदन माग गरिएको नगरपालिकाले स्पष्ट पारेको छ। नगर कार्यपालिकाको पुस १८ गतेको निर्णयअनुसार योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

नगरपालिकामा जागिर खान इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित नगर कार्यपालिकाको कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ । तोकिएको म्यादभित्र रितपूर्वक आवेदन दिने उम्मेदवारहरूबीच खुला प्रतिस्पर्धा गराई योग्य व्यक्तिलाई छनोट गरिने नगरपालिकाले जनाएको छ ।

करार सेवामार्फत आवश्यक जनशक्ति पूर्ति गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले कर्मचारी भर्ना प्रक्रिया अघि बढाइएको नगरपालिकाको भनाइ छ ।