काठमाडौं – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कफ्र्यू आदेश थप गरेको छ । यसअघि प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यू आदेश जारी गरेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार स्थानीयस्तरमा देखिएको विवादको समाधान खोज्ने प्रयास भइरहेको छ । उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी कफ्र्यू आदेश जारी गरिएको जानकारी दिए ।
“पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश लागू गरिएको छ,” प्रजिअ दाहालले भने, ।
प्रशासनले कफ्र्यू अवधिमा सुरक्षाकर्मीलाई आवश्यक कारबाही गर्न अधिकार दिइएको स्पष्ट पारेको छ । कफ्र्यूका बेला सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने अवस्था रहेकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कनै परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कन प्रशासनले अनुरोध गरेको छ ।
कफ्र्यू आदेश लागू रहेको अवधिमा एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



