तनहुँका १० वटा स्थानीय तहविरुद्ध अख्तियारमा ७३ उजुरी

तनहुँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा तनहुँ जिल्लाका स्थानीय तहविरुद्ध चालु आर्थिक वर्षको हालसम्म ७३ वटा उजुरी दर्ता भएका छन् । जिल्लाका १० वटा स्थानीय तहविरुद्ध उजुरी परेको आयोगले जनाएको छ ।

अख्तियार पोखरा कार्यालयका अधिकृत उदय पराजुलीका अनुसार शुक्लागण्डकी नगरपालिकाविरुद्ध सबैभन्दा बढी १६ वटा उजुरी परेका छन् । त्यसैगरी व्यास नगरपालिकाविरुद्ध १४, भानु नगरपालिकाविरुद्ध १२, देवघाट गाउँपालिकाविरुद्ध ११, आँबुखैरेनी गाउँपालिकाविरुद्ध सात, बन्दीपुर गाउँपालिकाविरुद्ध सात, म्याग्दे गाउँपालिकाविरुद्ध चार, भिमाद नगरपालिकाविरुद्ध एक र घिरिङ गाउँपालिकाविरुद्ध एक उजुरी परेको छ । ऋषिङ गाउँपालिकाविरुद्ध भने हालसम्म कुनै पनि उजुरी नपरेको उनले जानकारी दिए ।

पराजुलीका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दा समेत जोड्दा हालसम्म एक सय उजुरी रहेको छ । तीमध्ये ३८ वटा उजुरी फछ्र्योट भइसकेका छन् ।

देवघाट गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको संयुक्त आयोजनामा बिहीबार देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा अधिकृत पराजुलीले भ्रष्टाचार तथा अनियमितताविरुद्ध उजुरी गर्ने प्रक्रिया, भ्रष्टाचारका विभिन्न रूप, भ्रष्टाचार कसुर र सजायसम्बन्धी व्यवस्था (भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३–२३) बारे जानकारी गराएका थिए ।

कार्यक्रममा अख्तियार पोखरा कार्यालयका प्रमुख नारायणप्रसाद रेग्मीले आयोगमा उजुरी परेकै कारण डराउनुपर्ने अवस्था नरहेको बताए । उजुरी परेपछि निष्पक्ष छानबिन हुने र निर्दोष व्यक्तिलाई सफाइ तथा दोषीलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले कतिपय अवस्थामा स्थानीय तहले काम गर्न खोज्दा अनावश्यक रूपमा अख्तियारमा उजुरी हालेर दुःख दिने प्रवृत्ति रहेको गुनासो गरे ।