काठमाडौं : काठमाडौं महानगरपालिकाले सिंहदरबारदेखि भद्रकालीसम्मको सडकखण्डमा पैदल यात्रुका लागि सार्वजनिक कुर्सी पुनः राख्ने जनाएको छ । सडकपेटी छेउमा राखिएका कुर्सी हटाइएको भन्दै सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको महानगरले स्पष्ट पारेको छ ।
पूर्व मेयर बालेन साहको राजीनामापछि कुर्सी हटाइएको भन्ने दाबी सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो । तर, ती कुर्सीहरू हटाइएको नभई मर्मत तथा रंगरोगनका लागि अस्थायी रूपमा संकलन गरिएको सार्वजनिक निर्माण विभागले जनाएको छ ।
विभागका अनुसार फलाम र काठ मिश्रित ती कुर्सीका काठ फेर्नुपर्ने भएकाले आवश्यक मर्मत कार्य भइरहेको छ । मर्मत तथा रंगरोगन सम्पन्न भएपछि कुर्सीहरू पुनः सडकछेउमा राखिने महानगरपालिकाले जनाएको छ ।
यस पहलले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पैदल यात्रुहरूलाई विश्रामका लागि सहजता पुग्ने अपेक्षा गरिएको छ ।



