भारी हिमपातले हुम्लाको जनजीवन अस्तव्यस्त, हवाई उडान र सडक आवागमन ठप्प

हुम्ला – हुम्ला जिल्लामा लगातार दुई दिनदेखि परेको भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँपालिका तथा अन्य गाउँतर्फ जाने सडक मार्ग अवरुद्ध भएको छ ।

हिमपातकै कारण नेपालगञ्ज र सुर्खेतबाट सिमिकोटका लागि हुने हवाई उडानसमेत बन्द भएका छन्। सिमिकोट विमानस्थलमा बाक्लो हिउँ जम्दा उडान अवतरणमा समस्या देखिएको हो ।

हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र । 

यद्यपि, माघ १४ गते परेको भारी हिमपातका बाबजुद पनि सदरमुकामस्थित सरकारी कार्यालयहरूले आगो बालेर सेवाग्राहीलाई सेवा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा सरकारी कार्यालयका कर्मचारीहरू सिमिकोट विमानस्थल क्षेत्रमा जमेको हिउँ हटाउने कार्यमा सक्रिय छन् । उता जिल्लाको दक्षिणी भेगमा वर्षाका कारण बाटो अवरुद्ध हुँदा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ ।

हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका सातवटै दलका उम्मेदवारहरूले कठिन मौसमका बाबजुद पनि गाउँ–गाउँमा पुगेर प्रचारप्रसार जारी राखेको बताएका छन् ।

हिमपातपछि भने स्थानीय बासिन्दामा खुसी देखिएको छ। मङ्सिर महिनामा लगाइएका जौँ, गहुँ र उवा लगायतका बालीका लागि हिमपात लाभदायक भएको उनीहरूको भनाइ छ । लामो समयपछि परेको हिमपातले कृषिमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ ।