चितवन – पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक आयोजना समयमै सम्पन्न हुन सकेको छैन । ठेक्का सम्झौताअनुसार तीन वर्षमा पूरा हुने भनिएको सडकको हालसम्म ३७ प्रतिशत मात्र काम सम्पन्न भएको छ । त्यसैले आयोजनामा थप छ महिनाको म्याद दिइएको छ ।
विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी मुग्लिन–नागढुङ्गा सडक खण्डको ठेक्का सम्झौता गरिएको थियो । सडकलाई तीन चरणमा विभाजन गरेर बोलपत्र आह्वान गरिएको थियो । तेस्रो चरणको म्याद गत पुस १५ मा सकिएपछि निर्माण कम्पनीलाई १८३ दिनका लागि समय थप गरिएको छ ।
सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार, डिजाइनको तथ्याङ्कमा त्रुटि हुँदा सडक नक्साङ्कन फरक परेकाले काम समयमा सम्पन्न हुन सकेको थिएन। निर्माण कम्पनीले सडकको काम गर्ने ठाउँ खाली हुन ढिलाइ, रुख र खम्बा सार्न नसक्नु, निर्माण सामग्री सहज उपलब्ध नहुनु र सवारीको उच्च चापजस्ता कारणले पनि समयमै काम नसकिएको बताएका छन् ।
हाल उक्त खण्डमा ३७.५ प्रतिशत काम सम्पन्न भएको छ । नौ किलोमिटरभन्दा केही बढी कालोपत्र गरिएको छ भने धादिङको चरौदी क्षेत्रमा पनि कालोपत्रको काम भइरहेको छ । फिस्लिङलगायत क्षेत्रमा कालोपत्र तयारी भइरहेको छ। नाली, बेरियर, पुललगायत सडकका विभिन्न क्षेत्रका काम जारी छन् । दैनिक करिब १५० मजदुरले काम गरिरहेका छन् ।
सडक खण्डको कुल लम्बाइ ३८.८६ किलोमिटर रहेको छ । मलेखु, बेनीघाट र मुग्लिन खण्डमा दुई–दुई लेनको सडक बन्नेछ । सात किलोमिटर लामो सडक चार लेनको हुनेछ, जसमा रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्र पर्दछन्। उकालो–ओरालो क्षेत्रमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइनेछ ।
निर्माण ठेकेदार शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा उक्त खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । कालोपत्रसँगै नाला निर्माण, पहिरो रोकथामका संरचना, भित्तो काट्ने, पर्खाल लगाउने तथा सडक सुरक्षा सम्बन्धी काम बाँकी छन् । यो सडक विश्व बैंकको सहयोगमा निर्माण भइरहेको छ र काठमाडौँ प्रवेश तथा निकासको मुख्य मार्गको रूपमा महत्त्वपूर्ण मानिन्छ ।



