दमौली – आबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी स्वास्थ्यचौकीले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरु गरेको छ । नयाँ भवन सञ्चालनमा आएपछि यस क्षेत्रका दुर्गम तथा ग्रामीण भेगका नागरिकहरूले आफ्नै वडामै सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन् ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा स्वास्थ्य क्षेत्रको सुधार र विस्तारका लागि गरिएको निरन्तर प्रयासस्वरूप स्वास्थ्यचौकीको भौतिक पूर्वाधार सुदृढ गरिएको हो । स्थानीय तहबाटै आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यअनुसार पुरानो संरचनालाई प्रतिस्थापन गर्दै सुविधा सम्पन्न भवन निर्माण गरिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । रु ४० लाखको लागतमा भवन निर्माण गरिएको हो ।
नवनिर्मित भवनबाट नियमित उपचार सेवा, प्राथमिक स्वास्थ्य उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, पोषण परामर्श, परिवार नियोजन सेवा तथा सामान्य प्रयोगशाला सेवा सञ्चालन गरिने छन् । यसअघि सीमित स्थान र सुविधाका कारण सेवा प्रवाहमा देखिँदै आएको असहजता अब हट्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्यचौकी सञ्चालनमा आएसँगै आसपासका बस्तीका नागरिकहरूले सामान्य उपचारका लागि टाढाका स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । यसले समय, खर्च र जोखिमसमेत घट्ने वडाध्यक्ष गुरुङको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष चुमानले स्थानीय तहको पहिलो दायित्व नागरिकको स्वास्थ्य सुरक्षा भएको उल्लेख गर्दै स्वास्थ्य सेवालाई पहुँचयोग्य, गुणस्तरीय र प्रभावकारी बनाउनेतर्फ गाउँपालिका प्रतिबद्ध रहेको बताए । उनले आगामी दिनमा स्वास्थ्य जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति तथा सेवा गुणस्तर अभिवृद्धिका लागि थप पहल गरिने जानकारी दिए ।
स्थानीयवासीहरूले स्वास्थ्यचौकीको नयाँ भवन सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै यसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।



