बैतडी बस दुर्घटनामा १३ जनाको मृत्यु : पुर्चौडी नगरपालिकाले दियो शोक बिदा

बैतडी — बैतडीको पुर्चौडी नगरपालिकाले बस दुर्घटनामा १३ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरू एक दिन बन्द रहने जनाएको छ ।

बिहीबार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लिएर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।