स्थानीयको अवरोधपछि बञ्चरेडाँडामा काठमाडौँको फोहर व्यवस्थापन रोकियो

नुवाकोट, – स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन पुनः रोकिएको छ ।

बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिएका हुन् ।

स्थानीय निरञ्जन सञ्जेलका अनुसार विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर विसर्जन गर्न नदिने अडान लिइएको छ । “पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ। हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ,” उनले भने, ।

स्थानीयको अवरोधका कारण काठमाडौँबाट फोहर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई फर्काइएको छ ।

यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहर विसर्जनको अवरोध हटेको थियो । तर स्थानीयका अनुसार ती प्रतिबद्धता कार्यान्वयन नभएपछि पुनः आन्दोलन सुरु गरिएको हो ।

नुवाकोटको ककनी गाउँपालिका–१, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका–१, ३ र ४ का प्रभावित बासिन्दाले दुई जिल्लाको सीमास्थित ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका सवारीसाधनलाई गन्तव्यतर्फ जान दिएका छैनन् ।

ककनी, बेलकोटगढी र धुनबेँसी क्षेत्रका स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले पनि आन्दोलनरत स्थानीयलाई समर्थन गरेका छन् ।