१२ वर्षदेखि अलपत्र घुमाउने पुल निर्माण अझै अनिश्चित

दमौली : तनहुँ र चितवन जोड्ने घुमाउनेस्थित मोटरेबल पुल निर्माण १२ वर्षदेखि अलपत्र परेपछि स्थानीयवासीले प्रतिनिधिसभा निर्वाचनअघि ‘नो भोट’ अभियानको चेतावनी दिएका थिए ।

आँबुखैरेनी गाउँपालिका को सराङघाट, घुमाउने तथा बन्दीपुर गाउँपालिका को खहरेलगायत क्षेत्रका स्थानीयले पुल निर्माण नहुँदा वर्षौंदेखि सास्ती खेप्नुपरेको भन्दै मतदान बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

स्थानीयको दबाबपछि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू पुल निर्माणस्थलमै पुगेर जसरी पनि पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । सबै उम्मेदवारले हस्ताक्षरसहित पुल निर्माणलाई प्राथमिकतामा राख्ने वाचा गरेपछि स्थानीय मतदाताले मतदानमा सहभागिता जनाएका थिए ।

निर्वाचनपछि उक्त क्षेत्रबाट स्वर्णिम वाग्ले विजयी हुनुभएको छ। उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति पनि हुन् ।

पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरका अनुसार अब बन्ने सरकारले घुमाउने पुल निर्माणलाई प्राथमिकतामा राख्ने आशा स्थानीयले गरेका छन् । “नयाँ सरकार गठन हुँदैछ, अब यो बेला पनि पुल बनेन भने अरु बेला बन्ने सम्भावना झन् कम हुन्छ,” उनले भने, ।

सडक डिभिजन कार्यालय का अनुसार पुल निर्माणका लागि पहिलोपटक २०७० असारमा सञ्जीवनी निर्माण कम्पनी सँग सम्झौता भएको थियो। पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि २०७५ माघमा पुनः सम्झौता गरिए पनि कामले अपेक्षित गति लिन सकेको छैन ।

२०७८ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३६ प्रतिशत मात्र काम सम्पन्न भएको जनाइएको छ । पुल निर्माणको म्याद अहिले २०८३ असार मसान्तसम्म थपिएको छ ।

घुमाउने घाटमा निर्माण भइरहेको उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ। सुरुमा पुल निर्माणको लागत करिब रु ९ करोड ५६ लाख निर्धारण गरिएको थियो ।

यो पुल बुद्धसिं मोटरमार्ग अन्तर्गत निर्माणाधीन हो। व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने उक्त सडक सेती र मादी नदी किनार हुँदै बन्दीपुर र आँबुखैरेनी जोड्दै मुग्लिन–नारायणगढ सडकखण्ड मा पुग्नेछ ।

पुल निर्माण सम्पन्न भएपछि पोखरा र नारायणगढ बीचको यात्रा दूरी करिब २३ किलोमिटर छोटो हुने अनुमान गरिएको छ। अहिले पुल नहुँदा सवारी साधन तनहुँतर्फको सिमानासम्म पुगेर फर्किनुपर्ने अवस्था रहेको छ भने मोटरसाइकल भने डोहोर्याएर मात्रै सडक पार गर्न सकिन्छ ।

स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएमा तनहुँको देवघाट क्षेत्रका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुनेछन् र पोखरा–चितवन आवतजावत थप सहज बन्ने अपेक्षा गरिएको छ।