डवली संस्कृतिले काठमाडौँको साहित्यिक र सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ : डंगोल

काठमाडौँ, – काठमाडौँ महानगरपालिका वडा नं. २७ ले डवली संस्कृतिलाई पुनर्जीवन दिने उद्देश्यसहित असन डवलीमा ‘काव्यमय साँझ’ कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व कविता दिवस को अवसरमा आयोजित कार्यक्रममा १२ जना महिलासहित ३३ जना कवि–कवियत्रीले कविता, गीत, गजल र नजम प्रस्तुत गरेका थिए। कार्यक्रम नेपाली, अंग्रेजी, उर्दू, हिन्दी, संस्कृत र नेपाल भाषामा विविध सिर्जनाले भरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘बादल’ शीर्षकको कविता वाचन गर्दै डवली संस्कृतिले काठमाडौँको साहित्यिक र सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएको बताईन् । उनले यस्तो परम्परालाई पुनर्जीवित गर्ने प्रयासको प्रशंसा गरिन् ।

वडाध्यक्ष योगेश खड्गीले रसयुक्त साहित्य सिर्जना र प्रस्तुति मार्फत सामाजिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । “डवली सिर्जनात्मक अभिव्यक्तिको उपयुक्त स्थल भएकाले यहाँ कार्यक्रम गरेका हौँ,” उनले भने ।

कार्यक्रममा प्रशासक, चिकित्सक, व्यापारीलगायत विभिन्न पेशामा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो भने स्थानीय बासिन्दाको पनि उल्लेख्य उपस्थिति देखिएको थियो ।

वडा सदस्य सृष्टि कंसाकार तुलाधरले साहित्यले व्यक्त गर्न नसकिएका भावनालाई शब्दमार्फत प्रस्तुत गर्न सक्ने भएकाले यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

कवि तथा समीक्षक प्रकाश सायमी ले विश्व कविता दिवसको सन्दर्भमा सन् २००२ देखि कविहरूलाई समाजसँग जोड्ने खुला कार्यक्रमहरू सञ्चालन हुँदै आएको जानकारी दिए ।

यस प्रकारका कार्यक्रमले काठमाडौँको परम्परागत डवली संस्कृतिलाई जोगाउँदै साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।