भोजपुर : हतुवागढी गाउँपालिका मा नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज आयोजित एक औपचारिक कार्यक्रमबीच ३४ कोठे आधुनिक भवन सञ्चालनमा ल्याइएको हो ।
लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित रु सात करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । उनका अनुसार विसं २०८० मङ्सिरदेखि सुरु गरिएको निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न गरिएको हो ।
आधुनिक संरचना र लिफ्टसहितको सुविधा भएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सेवाग्राहीलाई सहज पहुँच हुने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीयलाई छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले भवन निर्माण गरिएको बताए ।
“यसअघि आफ्नै भवन नहुँदा पुरानो स्वास्थ्यचौकी र भाडाका संरचनाबाट सेवा दिनुपरेको थियो,” उनले भने, “अब एउटै व्यवस्थित भवनबाट सेवा दिँदा नागरिकलाई धेरै सहज हुनेछ ।”
गाउँपालिका उपाध्यक्ष सुनिता किरातीका अनुसार भवन निर्माण केन्द्रीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा गरिएको हो ।
नयाँ भवन सञ्चालनमा आएपछि प्रशासनिक सेवा थप प्रभावकारी र व्यवस्थित हुने विश्वास गरिएको छ ।



