कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छ : सभापति थापा

ललितपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले जिम्मेवार ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले जनमतले सङ्घीय संसद्मा दिएको प्रतिपक्षको भूमिकालाई जिम्मेवारपूर्वक निभाइने स्पष्ट पारे । “संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रको आधारमा हामी प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ,” उनले भने, ।

उनले २०८२ देखि २०८७ सम्मको अवधिमा सुशासन, सेवा र विकासको गति बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी लाई आवश्यक सहयोग र साथ रहने उल्लेख गरे । आगामी पाँच वर्ष देशमा कुनै प्रकारको द्वन्द्व वा अस्थिरता नआउने गरी भूमिका खेल्ने उनकोे भनाइ थियो ।

सभापति थापाले प्रतिकूल परिस्थितिमा निर्वाचनमा जानुपरेको उल्लेख गर्दै परिणामपछि आफूले जिम्मेवारी स्वीकार्दै सभापति पदबाट राजीनामा दिएको जानकारी दिए । “केन्द्रीय समितिले मेरो अपेक्षाभन्दा फरक निर्णय गरेको छ, अब यसको मूल्याङ्कन आगामी महाधिवेशनले गर्नेछ,” उनले भने, ।

उनले सुशासनका सन्दर्भमा अहिलेको सरकारसँग नागरिकको उच्च अपेक्षा रहेको बताउँदै अख्तियार दुरुपयोग तथा नीतिगत भ्रष्टाचारका विषयमा गम्भीर छानबिन हुनुपर्नेमा जोड दिए ।

“२०४६ यता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ, अवैध सम्पत्ति जफत गर्नुपर्छ र यसका लागि विशेष आयोग गठन गर्नुपर्छ,” उनले भने, ।

निर्वाचनसम्बन्धी समीक्षा सम्पन्न भइसकेको र अब केन्द्रीय समितिको निर्णयअनुसार सातै प्रदेशमा विस्तृत समीक्षा गरिने उनले जानकारी दिए ।