काठमाडौँ, — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ। सङ्घीय संसद् सचिवालय का अनुसार शपथ समारोहका लागि सबै तयारी पूरा भइसकेको छ ।
शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुनेछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय भएको प्रवक्ता एकराम गिरी ले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि बुधबार केसीलाई ज्येष्ठ सदस्यको हैसियतमा शपथ गराइसकेका छन् ।
सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन् ।
नेपालको संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा ५ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ लिने व्यवस्था गरिएको छ ।
सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ । औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।
शपथ समारोहका लागि हलमा आवश्यक सिट, रोष्ट्रम, सभामुखको आसन तथा अन्य व्यवस्थापन पूरा गरिएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा विभिन्न दलहरूले प्रतिनिधिसभामा सिट प्राप्त गरेका छन्, जसअनुसार नयाँ संसद्को औपचारिक प्रक्रिया आजबाट सुरु हुने भएको छ ।



