पर्वत, – पर्वतको मोदी गाउँपालिका मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ ।
नेपाल नेत्रज्योति संघ द्वारा सञ्चालित हिमालयन आँखा अस्पताल को प्राविधिक सहयोगमा चैत ८ गतेदेखि १५ गतेसम्म उक्त शिविर सञ्चालन गरिएको थियो ।
आँखा परीक्षणका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएको थियो । ती बिरामीको हिमालयन आँखा अस्पतालका विशेषज्ञ चिकित्सकद्वारा शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिए । उनका अनुसार परिवारको सहारामा शिविरमा आएका धेरै वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किन सक्ने अवस्थामा पुगेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष विमल लामिछाने ले लामो समयदेखि आँखाको ज्योति गुमाएर बसिरहेका वृद्धवृद्धा यस शिविरबाट विशेष रूपमा लाभान्वित भएको बताए । वर्षौँदेखि आँखा नदेख्ने समस्याबाट पीडित रहेका वृद्धवृद्धाले उपचारपछि पुनः आँखाको ज्योति फर्किँदा खुशी व्यक्त गरेका छन् ।



