‘अधिकार मात्रै होइन, कर्तव्य पनि सिकाऔँ’ : सांसद श्रद्धा कुँवर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद श्रद्धा कुँवरले नागरिकलाई अधिकारसँगै कर्तव्यबारे शिक्षा दिनुपर्नेमा जोड दिएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आधारभूत तहदेखि नै नागरिकमा कर्तव्य र जिम्मेवारीबोध गराउने शिक्षा प्रणाली विकास गर्न सरकारसँग आग्रह गरिन् ।

उनले ‘किन्डरगार्टेन’ तहबाटै नागरिक चेतना (सिभिक सेन्स) को अभ्यास सुरु गर्नुपर्ने बताउँदै विकसित मुलुकहरूमा यस्तो अभ्यास धेरैअघिदेखि लागू भइसकेको उल्लेख गरिन् । “अधिकार मात्रै होइन, कर्तव्य पनि सिकाउने शिक्षा प्रणाली विकास गरियोस्,” सांसद कुँवरले भनिन् ।

सांसद कुँवरले मुलुकले अपनाउने नीति तथा रणनीतिहरूले नागरिकको जीवनमा कस्तो प्रभाव पारिरहेका छन् भन्ने विषयमा गम्भीर अध्ययन हुनुपर्ने बताइन् । उनका अनुसार भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी र गुणस्तरीय जीवनका क्षेत्रमा ध्यान दिँदा नागरिक चेतना र क्षमता अभिवृद्धिलाई पनि समान प्राथमिकता दिन आवश्यक छ ।

“हामीले नागरिक चेतना र क्षमता अभिवृद्धिमा पर्याप्त ध्यान दिएका छैनौँ कि भन्ने प्रश्नले मलाई बारम्बार सताइरहेको छ,” उनले भनिन् । नीति निर्माण गर्दा त्यसले नागरिकमा कति अपनत्व सिर्जना गरेको छ भन्ने मापदण्ड पनि स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

सांसद कुँवरले समाजमा साना–साना व्यवहारिक विषयहरू बेवास्ता हुने प्रवृत्ति बढेको बताइन् । “हामीलाई छिटो परिणाम चाहिन्छ, ठूलो परिवर्तन खोज्छौं तर फोहोर कहाँ फाल्ने, बाटो कहाँ काट्ने, अरूसँग कस्तो व्यवहार गर्ने जस्ता सामान्य नागरिक अनुशासनमा ध्यान दिन सकेका छैनौँ,” उनले भनिन् ।

उनले सामाजिक समस्याहरू डिजिटल प्लेटफर्ममा पनि विस्तार हुँदै गएको उल्लेख गर्दै डिजिटल साक्षरता बढाउन आवश्यक रहेको बताइन्। सामाजिक सञ्जालमा गाली, धम्की, चरित्रहत्या र साइबर उत्पीडन जस्ता घटना सामान्य बन्दै गएको भन्दै उनले राज्यलाई यसतर्फ गम्भीर हुन आग्रह गरिन्।

उनका अनुसार नेपाल प्रहरी को प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा साइबर अपराधसम्बन्धी उजुरी ११९ प्रतिशतले बढेको छ। यस्ता अपराधबाट विशेषगरी महिलाहरू बढी प्रभावित हुने गरेको उनले बताइन्।