रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा

काठमाडौँ, जेठ १४ गते । गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले गोरखापत्र अनलाइनसँग कुरा गर्दै रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको बताउनुभयो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढासमेतका १९ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’’

त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङरलिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गर्नुभएको छ ।