कर्णालीमा सनकट्टी पुल निर्माण अन्तिम चरणमा

कैलाली – कर्णाली नदी स्थित सनकट्टी घाटमा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कैलाली जिल्ला र बर्दिया जिल्ला जोड्ने यो पुल निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

निर्माण कम्पनीका इन्जिनियर धिरेन्द्र सहनी का अनुसार विसं २०७९ पुस १७ गते नेपाल सरकारसँग सम्झौता भई २०८० बाट निर्माण सुरु गरिएको थियो। सम्झौताअनुसार २०८३ असोज १७ गतेसम्म काम सक्नुपर्ने भए पनि असार मसान्तभित्रै सम्पन्न गर्ने गरी काम तीव्र पारिएको छ ।

हाल पुलका १४ वटै पिलर निर्माण भइसकेका छन् भने १२औँ स्पानमा काम भइरहेको छ । आगामी १५ दिनभित्र उक्त स्पान सम्पन्न गरी १३औँ स्पानको काम सुरु गरिने योजना छ। साथै कैलालीतर्फ तटबन्ध निर्माणको काम पनि सँगसँगै भइरहेको छ ।

पुल निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीयले अहिले नै आंशिक रूपमा पुल प्रयोग गर्न थालेका छन् । नदीमा पानी ‘डाइभर्सन’ गरिएकाले डुङ्गाको सहायताबाट वारपार गर्नुपर्ने बाध्यता हट्दै गएको छ। कैलालीको टीकापुरका भरत विक ले अब आफ्नै सवारीसाधन प्रयोग गरेर नदी पार गर्न पाएको बताउँदै पुलले ठूलो राहत दिने बताए ।

त्यस्तै जनकबहादुर विष्ट ले पनि पुल निर्माण अन्तिम चरणमा पुग्दा आवतजावत सहज भएको भन्दै खुसी व्यक्त गरे। उनका अनुसार कैलालीका धेरै नागरिकको खेतीपाती बर्दियामा रहेकाले नियमित आउजाउ गर्नुपर्ने बाध्यता रहेको थियो ।

स्थानीय झपट कडायत का अनुसार पुल निर्माणपछि दूरी करिब २० किलोमिटरले घट्नेछ र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशबीचको आवतजावत सहज हुनेछ । बर्दियाको गेरुवा गाउँपालिका–१ का करण चौधरी ले पहिले डेढ–दुई घण्टा लाग्ने यात्रा अहिले एक घण्टाभित्रै सकिने बताए ।

करिब १ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुल ७५२ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । यसमध्ये ७.५ मिटर सवारीसाधनका लागि र बाँकी दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहनेछ ।

निर्माण कम्पनीले पुलसँगै दुवैतर्फ ५०० मिटर पहुँच मार्ग तथा १,०१५ मिटर नदी नियन्त्रणका संरचना पनि निर्माण गरिरहेको छ ।

यसअघि यी दुई जिल्लाबीच आवतजावतका लागि कर्णाली चिसापानी पुल र सत्तीघाट पुल विकल्पका रूपमा प्रयोग हुँदै आएका थिए। सनकट्टी पुल निर्माण सम्पन्न भएपछि कर्णाली नदीमा कैलाली र बर्दिया जोड्ने तेस्रो पुल हुनेछ ।

स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएसँगै आवतजावत, व्यापार, कृषि र सेवा प्रवाहमा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको छ ।