काठमाडौं – ठूलो भर्याङस्थित यातायात कार्यालयले सेवाग्राहीलाई बिहान ७/८ बजेदेखि नै लाइनमा बस्ने प्रवृत्ति नगर्न आग्रह गरेको छ ।
कार्यालयले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै कार्यालय बिहान ९ बजेबाट मात्र खुल्ने भएकाले अत्यधिक चाँडै आएर लाइन बस्नु आवश्यक नभएको स्पष्ट पारेको छ ।
सूचनामा भनिएको छ, “कार्यालय बिहान ९ बजे खुल्छ, तर सेवाग्राही ७/८ बजेदेखि नै आएर लाइन बस्ने गर्नुभएको छ । अहिलेको कार्यबोझअनुसार बिहानैदेखि लाइन बस्नुपर्ने आवश्यकता छैन ।”
कार्यालयका अनुसार दैनिक करिब १ बजेसम्म अधिकांश सेवाग्राहीको काम सकिने र त्यसपछि कार्यालयको कार्यभार सामान्य हुने गरेको छ ।
सोमबारका दिन केही भीड हुने भए पनि अन्य दिनहरूमा सेवा सहज रूपमा प्रवाह भइरहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी, बैंकहरू दिउँसो ४ बजेसम्म खुल्ने र कार्यालय ५ बजेसम्म सेवा दिने भएकाले आफ्नो समय व्यवस्थापन गरी भीड कम हुने समयमा सेवा लिन कार्यालयले सेवाग्राहीलाई आग्रह गरेको छ ।




