भरपर्दो विद्युत् नहुँदा तिलकेनीका दलित बस्ती सिँचाइ सुविधाबाट वञ्चित

कञ्चनपुर– भीमदत्त नगरपालिका–१० अन्तर्गत तिलकेनीस्थित चुरे फेदीको दलित बस्तीका स्थानीयवासी भरपर्दो विद्युत् सेवा अभावका कारण सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।

बस्तीमा जडान गरिएका बोरिङ पर्याप्त विद्युत् प्रसारण नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । सिँचाइ अभावले खेतीपाती र पशुपालन व्यवसायसमेत प्रभावित बनेको स्थानीयले बताएका छन् ।

दशकअघि एक दातृ निकायले सिँचाइका लागि बोरिङ जडान गरिदिएको थियो । त्यसयता स्थानीयले आफ्नै लगानीमा थप पाँच–छ वटा बोरिङ गाडेका छन् । तर बस्तीमा ‘थ्रिफेज’ विद्युत् लाइन विस्तार नहुँदा ती बोरिङ सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ ।

सिँचाइ सुविधा नहुँदा धान, गहुँ र मकैजस्ता बालीको उत्पादनले तीन महिना पनि खान नपुग्ने अवस्था रहेको स्थानीय बताउँछन्। यसका कारण धेरैजसो युवा रोजगारीका लागि भारतमा मजदुरी गर्न बाध्य भएका छन् ।

स्थानीय वसन्ती लुहार ले सिँचाइ अभावकै कारण खेतमा घाँसखेती गर्नसमेत समस्या भएको बताए ।
“दूध बेचेर घरखर्च चलाउन भैँसी पाल्ने चाहना थियो”, उनले भने,“तर खेतमा घाँसखेती गर्न नसक्दा त्यो योजना स्थगित गर्नुपरेको छ । खेतमा सिँचाइ नहुँदा अन्न पनि राम्ररी फल्दैन । अहिले परिवार चलाउन श्रीमान्को दैनिक मजदुरी नै मुख्य सहारा बनेको छ ।”

स्थानीय पदम लुहार ले वडा कार्यालय, नगरपालिका र विद्युत् प्राधिकरणमा पटक–पटक थ्रिफेज लाइन विस्तारको माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे , ।
“टुफेज लाइन त छ, तर त्यसले घरको बत्तीसमेत राम्रोसँग बल्दैन”, उनले भने, “गर्मीमा पङ्खा चलाउन खोज्दा पनि राम्ररी चल्दैन । वर्षौंदेखि समस्या झेलिरहेका छौँ, तर समाधान भएको छैन ।”

बस्तीमा खानेपानीको केही व्यवस्था भए पनि सबै परिवार त्यसको पहुँचमा पुग्न सकेका छैनन्। स्थानीय प्रेम कोली का अनुसार करिब ३०० परिवार बसोबास गर्ने बस्तीमा हालसम्म २०० मिटर मात्रै पाइपलाइन विस्तार गरिएको छ ।
बस्तीका अगुवा गोपाल महर ले तिलकेनीको दलित बस्ती नगरपालिका क्षेत्रकै सबैभन्दा पीडित बस्तीमध्ये एक भएको बताए उनका अनुसार बस्तीमा भरपर्दो विद्युत्, सडक स्तरोन्नति, तटबन्ध तथा पुलजस्ता आधारभूत पूर्वाधारको अभाव छ।

“छिमेकी गाउँसम्म कालोपत्रे सडक पुगेको छ”, उनले भने,“तर हाम्रो गाउँ पुग्ने सडक स्तरोन्नति नहुँदा वर्षौंदेखि सास्ती खेप्दै आएका छौँ ।”

स्थानीयका अनुसार चुरे क्षेत्रबाट बग्ने खहरे खोलाले हरेक वर्ष जग्गा कटान गर्दै आएको छ । भूक्षयका कारण धेरै परिवार विस्थापनको जोखिममा परेका छन् । प्रभावकारी तटबन्ध निर्माण नहुँदा समस्या झन् बढ्दै गएको उनीहरूको भनाइ छ ।

खोलामा पुल नहुँदा वर्षायाममा एक किलोमिटर दूरी पार गर्नसमेत तीन किलोमिटर घुम्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

बस्तीका धेरै नागरिक अझै नागरिकताको प्रमाणपत्रबाट वञ्चित छन्। आवश्यक कागजात जुटाउन नसक्दा नागरिकता बनाउन कठिनाइ भइरहेको स्थानीयको भनाइ छ । विसं २०२६ देखि बसोबास गर्दै आए पनि श्रेस्ता कायम हुँदाहुँदै लालपुर्जा प्राप्त गर्न नसकेको दलित समुदायको गुनासो छ ।

रोजगारी अभाव पनि बस्तीको अर्को प्रमुख समस्या बनेको छ। घर निर्माण, धातुका सामग्री निर्माण तथा सिलाइकटाइजस्ता परम्परागत सीप भएका युवासमेत काम नपाएर भारतमा सस्तो मजदुर बन्न बाध्य भएको स्थानीय बताउँछन्।

स्थानीय कैलराम ओडले “घरमा बस्दा काम पाइँदैन, भोकै बस्नुपर्ने अवस्था आउँछ, त्यसैले भारत जान बाध्य भएका छौँ,” भने, ।

बस्तीमा कक्षा ३ सम्म पढाइ हुने विद्यालय भए पनि आवश्यक फर्निचर, स्टेशनरी र कम्प्युटरलगायत सामग्रीको अभाव रहेको स्थानीयको भनाइ छ। स्थानीय विमला लुहार ले दलित समुदायको विद्यालय भनेर विभेदपूर्ण व्यवहार गरिने गुनासो गरे ,।

स्थानीयवासीले तिलकेनी दलित बस्तीमा विद्युत्, सिँचाइ, सडक, तटबन्ध, पुल, शिक्षा र नागरिकताजस्ता आधारभूत सेवा तत्काल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।