काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले विभिन्न जिज्ञासा तथा टिप्पणी राखेका थिए ।
ती जिज्ञासाको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची तय गरिएको भए पनि प्रधानमन्त्रीका प्रतिनिधिका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी भएपछि प्रतिपक्षी दलका सांसदहरूले सदन अवरुद्ध गरेका थिए । त्यसपछि बैठक स्थगित गरिएको थियो ।
स्थगित बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यक्रम रहेको छ ।
त्यसैगरी, अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ सभासमक्ष पेश गर्ने कार्यसूची पनि रहेको छ ।



