सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका

म्याग्दी – मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडक कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ। पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको दरबाङ बजारभित्रको सडक फराकिलो बनाएर कालोपत्र गर्न थालिएपछि स्थानीयवासी उत्साहित बनेका छन्।

बजारभित्रको सडक साँघुरो र कच्ची हुँदा वर्षायाममा हिलो तथा हिउँदमा धुलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्दै आएका थिए। अहिले सडक फराकिलो बनाउने र कालोपत्र गर्ने काम सुरु भएसँगै स्थानीयवासी स्वयं सडक विस्तारमा सहयोग गर्न अग्रसर भएका छन्।

उद्योग वाणिज्य सङ्घ दरबाङ एकाइका उपाध्यक्ष अमृत सापकोटाका अनुसार सडक खुलेको करिब दुई दशकपछि बजारभित्रको सडक कालोपत्र हुन लागेकाले दरबाङको स्वरूप नै परिवर्तन हुने अपेक्षा गरिएको छ । गाउँपालिकाको केन्द्र भएकाले बजारको महत्व अझ बढेको र नालीसहितको स्तरीय सडक निर्माणले स्थानीयमा विकासप्रतिको आशा जागेको उनले बताए ।
दरबाङको तल्लो बजार कालोपत्रका लागि २०८२ पुस ३० गते सापकोटा बिल्डर्ससँग रु १ करोड २६ लाख ८२ हजार ८८८ मा ठेक्का सम्झौता भएको थियो। उक्त योजनाअन्तर्गत एक किलोमिटर ४०० मिटर सडक कालोपत्रसहित स्तरोन्नति गरिनेछ। हाल सडक फराकिलो बनाउने तथा नाली निर्माणको काम भइरहेको छ।

यसअघि दरबाङको माथिल्लो बजार दुई वर्षअघि नै कालोपत्र भइसकेको छ। जनप्रिय माध्यमिक विद्यालयदेखि बेनी–दरबाङ सडकमा जोडिने भित्री सडक गण्डकी प्रदेश सरकारको सहयोगमा कालोपत्र गरिएको थियो। गाउँपालिकाका प्रवक्ता अनुप गौचनका अनुसार यसअघि गाउँपालिका कार्यालयदेखि वडा कार्यालय हुँदै उपल्लो दरबाङ जोड्ने सडक ढलान भइसकेको छ भने अहिले सञ्चालनमा रहेको योजनाले बजारभित्रको यातायातलाई थप सहज बनाउनेछ।

मालिका गाउँपालिकाले सबै वडा र बस्तीमा सडक सञ्जाल विस्तार गरिसकेको जनाएको छ। गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार पालिकाको केन्द्रदेखि वडा कार्यालय जोड्ने मुख्य सडकलाई स्तरोन्नति गर्दै बाह्रै महिना सञ्चालनयोग्य बनाउने लक्ष्यअनुसार सडक विस्तार, नाली निर्माण र स्तरोन्नतिको काम भइरहेको छ।

गाउँपालिकाभित्र विभिन्न सडकलाई आपसमा जोडेर दुई वटा चक्रपथसमेत निर्माण गरिएको छ। साथै ताराखोला, तमानखोला तथा धवलागिरि गाउँपालिकासँग सडक सञ्जाल विस्तार गर्ने काम पनि अघि बढाइएको छ।

चालु आर्थिक वर्षमा दरबाङ–फूलबारी सडक स्तरोन्नति, दरबाङ–निस्कोट सडक सुधार, अदिभारा–टाक्से–रुम सडक पुनः सञ्चालन तथा रुम गाउँमा सडक ढलानलगायतका योजना पनि कार्यान्वयन भइरहेका छन्। प्रदेश र सङ्घीय सरकारको सहयोगमा सडक फराकिलो बनाउने, ढलान, ग्याबियन तथा पलम पर्खाल निर्माण र पुल निर्माणका कामले मालिका गाउँपालिकाको सडक पूर्वाधारलाई थप व्यवस्थित बनाउँदै लगेको गाउँपालिकाले जनाएको छ।