काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई शपथ गराएका हुन् । मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितलाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारका लोभ, प्रलोभन वा प्रभावमा नपरी निष्पक्ष रूपमा नियामकीय भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।
अर्थमन्त्री वाग्लेले पुँजीबजारमार्फत पुँजी परिचालन बढाई आर्थिक वृद्धिलाई गति दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै पुँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दएि ।
बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उहाँले बजारमा लगानीकर्ताको आत्मविश्वास बढाउने गरी नियमनको भूमिका प्रभावकारी बनाउन आग्रह गरे ।
“धेरै बोलेर होइन, कामबाट परिणाम देखाए । मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन। समयसीमा तोकेर सुधारका योजना कार्यान्वयन गर्नुहोस्। मलाई हरेक हप्ता पुँजीबजारको प्रगति सम्बन्धी ब्रिफिङ चाहिन्छ,“ अर्थमन्त्री वाग्लेले भने ।
नवनियुक्त अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको निर्देशनअनुसार पुँजीबजारको विकास, लगानीकर्ताको हित संरक्षण तथा आर्थिक वृद्धिमा योगदान पुग्ने गरी आफ्नो ज्ञान, अनुभव र सीपको पूर्ण उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पुँजीबजार सुधारका लागि विगतमा भएका अध्ययन, सुझाव तथा सिफारिसलाई कार्यान्वयन गर्दै बजारलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन निरन्तर काम गर्ने बताए ।



