महालक्ष्मीकाे कर्मनाशा खोलामा बाढी पूर्वसूचना प्रणाली सञ्चालन

काठमाडाैं – ललितपुरकाे  महालक्ष्मी नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि कर्मनाशा खोलामा अत्याधुनिक बाढी पूर्वसूचना प्रणाली (Flood Early Warning System) सञ्चालनमा ल्याएको छ। नेपालमै दोस्रो पटक प्रयोगमा ल्याइएको यस प्रविधिको सोमबार नगर प्रमुख हरिगोविन्द श्रेष्ठले स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा नगर प्रमुख श्रेष्ठले प्रणालीको कार्यसम्पादन र प्रभावकारिताबारे जानकारी लिँदै जनधनको सुरक्षा तथा समयमै पूर्वसूचना प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन्।

नगरपालिकाका अनुसार उक्त प्रणालीमार्फत कर्मनाशा खोलाको पानीको सतह र बहावलाई वास्तविक समय (रियल–टाइम) मा निरन्तर निगरानी गर्न सकिन्छ। साथै, प्रत्येक मिनेट, प्रत्येक घण्टा तथा दैनिक प्रतिवेदनलाई पनि प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ।

खोलाको पानीको सतह बढ्दै जाँदा सेन्सरमार्फत स्वचालित रूपमा मापन तथा निगरानी हुने र पानीको सतह १० फिटभन्दा माथि पुगेपछि स्वतः साइरन बजेर स्थानीय बासिन्दालाई सचेत गराउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

यस्तै, बाढीको जोखिम बढ्ने अवस्था सिर्जना भएलगत्तै सम्बन्धित व्यक्ति तथा निकायको मोबाइलमा एसएमएसमार्फत स्वचालित चेतावनी सन्देश पठाउने सुविधा पनि प्रणालीमा समावेश गरिएको छ।

नगरपालिकाले यस प्रणालीबाट बाढीजन्य विपद्को पूर्वसूचना समयमै प्रवाह हुने, जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास लिएको छ।