मेची राजमार्गसहित सबै वैकल्पिक मार्ग बन्द, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प

इलाम — निरन्तरको वर्षाका कारण मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। यातायात सेवा अवरुद्ध हुँदा बिरामी, यात्रु तथा मालवाहक ढुवानीसमेत समस्यामा परेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित पुरानै पहिरो थप धस्सिँदा सडकको ठूलो भाग बगेको छ। त्यसपछि उक्त खण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए ।

उनका अनुसार गोदक–जोगमाई–तिल्केनी सडकखण्डमा रहेको डाइभर्सनमाथिबाट बाढी बगेपछि यो वैकल्पिक मार्गसमेत बन्द भएको छ। त्यस्तै, केचना–कञ्चनजङ्घा मार्गअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि उक्त सडकमार्फत पनि यातायात सञ्चालन हुन सकेको छैन।

डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको काम जारी रहे पनि लगातारको वर्षाले काम प्रभावित भएको बताए । उनका अनुसार जोगमाई र पुवाखोलामा बेलीब्रिज जडानको तयारी भइरहेको छ। तर, भारतबाट आवश्यक सामग्री र प्राविधिक टोली आउने मिति अझै निश्चित नभएकाले तत्काल समस्या समाधान हुने अवस्था नरहेको छ।

यातायात अवरुद्ध भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)का अनुसार व्यवसायीहरूले हालसम्म साना सवारीमार्फत दैनिक उपभोग्य सामग्री ओसारपसार गर्दै आएका थिए। तर वैकल्पिक मार्गसमेत बन्द भएपछि इन्धन, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको अभाव हुन सक्ने जोखिम बढेको छ।

“सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखेर सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्न आवश्यक छ,” अध्यक्ष पौडेलले भने ।

मेची क्षेत्रको मुख्य जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड विगत तीन वर्षदेखि बर्खायाममा निरन्तर पहिरोको उच्च जोखिममा पर्दै आएको छ। करिब आधा किलोमिटर सडक बारम्बार धस्सिने समस्याले यस वर्ष पनि यातायात सञ्चालनमा गम्भीर असर पुर्‍याएको छ। पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायम रहेकाले थप वर्षा भए आवागमन अझ प्रभावित हुन सक्ने स्थानीयवासीको भनाइ छ।

सडक अवरुद्ध भएपछि यातायात व्यवसायीसमेत चिन्तित बनेका छन्। इलाम नगरपालिका–७ का सवारी चालक निङ्मा शेर्पाले सडक खुल्ने आशामा दैनिक यात्रामा निस्किए पनि वर्षा भएपछि फेरि यातायात बन्द हुने गरेको बताए ।

“हरेक दिन सडक खुल्छ कि भन्ने आशामा निस्कन्छौँ, तर पानी परेपछि फेरि सबै बन्द हुन्छ,” उनले भने, “गाडीको किस्ता, इन्धन खर्च र घरपरिवारको दैनिकी धान्नसमेत कठिन भएको छ।”