जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’, कालीगण्डकी किनारमै फोहर विसर्जन

म्याग्दी — बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ल्याण्डफिल साइट निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि उपयुक्त जग्गा अभावका कारण कार्यान्वयन हुन सकेको छैन। विकल्प नपाएपछि बेनी नगरपालिकाले कालीगण्डकी नदी किनारको रातोपहिरो क्षेत्रमा फोहर विसर्जन गर्दै आएको छ, जसले वातावरण, जनस्वास्थ्य तथा धार्मिक सम्पदामा असर परेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

बेनी नगरपालिकाले हरेक आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा फोहर व्यवस्थापन केन्द्र निर्माणलाई प्राथमिकतामा राख्दै आएको भए पनि उपयुक्त स्थानमा जग्गा पहिचान हुन नसक्दा योजना अलपत्र परेको छ। त्यसैले बेनी नगरपालिका–६ रातोपहिरोस्थित कालीगण्डकी नदी किनारमा विसं २०६० देखि फोहर विसर्जन गरिँदै आएको छ।

कालीगण्डकी नदी किनार र बेनी–जोमसोम सडकसँगै रहेको उक्त फोहर व्यवस्थापन स्थलबाट निस्कने दुर्गन्धले आसपासका बस्तीका बासिन्दा, यात्रु, पर्यटक तथा तीर्थयात्री प्रभावित हुने गरेका छन्।

जलजला गाउँपालिका–२ बगरफाँटका हीराबहादुर बरुवालका अनुसार खुला रूपमा फोहर फालिँदा बगरफाँट, जलेश्वर, कालीपुल र गलेश्वर क्षेत्रका बासिन्दाले वर्षौंदेखि दुर्गन्धको समस्या भोगिरहेका छन्। बेनी–गलेश्वर हुँदै मुस्ताङ जाने पर्यटक तथा तीर्थयात्रीसमेत यसबाट प्रभावित हुने गरेको उनले बताए ।

बेनी, गलेश्वर, तातोपानी, सिंगा र हाडेभिर क्षेत्रका दुई हजारभन्दा बढी घरधुरीबाट दैनिक तीनदेखि चार ट्र्याक्टर फोहर सङ्कलन गरी रातोपहिरोमा विसर्जन गरिन्छ। नदी किनारमा फोहर नफाल्न तत्कालीन पुनरावेदन अदालत बागलुङले विसं २०७२ मा निषेधाज्ञा जारी गरे पनि विकल्प अभावमा सोही स्थान प्रयोग भइरहेको छ।

फोहर व्यवस्थापनका लागि नगरपालिकाले कम्प्याक्टर मेसिन र सवारीसाधनसहितको सेवा पोखरास्थित एक निजी कम्पनीलाई मासिक एक लाख ६० हजार रुपैयाँमा जिम्मा दिएको छ। नगरप्रमुख सुरत केसीले सुरक्षित र दिगो ल्याण्डफिल साइटको विकल्प नपाएकाले हालको स्थान प्रयोग गर्नु बाध्यता भएको बताए ।

उनका अनुसार पछिल्ला वर्षदेखि कुहिने र नकुहिने फोहर छुट्याउने, कुहिने वस्तु खाडलमा व्यवस्थापन गर्ने, पुनः प्रयोगयोग्य सामग्री अलग्गै सङ्कलन गर्ने तथा जैविक फोहरबाट प्राङ्गारिक मल उत्पादन गर्ने कार्य सुरु गरिएको छ। यसले नदीमा प्रत्यक्ष फोहर पुग्ने मात्रा केही घटाएको नगरपालिकाको दाबी छ।

नगरपालिकाले विभिन्न स्थानमा ल्याण्डफिल साइट निर्माणका लागि प्रस्ताव गरे पनि जग्गा उपलब्ध गराउने विषयमा स्थानीय सहमति जुट्न नसकेको जनाएको छ। नगरप्रमुख केसीका अनुसार कम्तीमा दुई रोपनी जग्गा आवश्यक पर्नेछ।

दुई वर्षअघि रातोपहिरो नजिकैको कालीगण्डकी किनारबाट भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरका लागि देवशिला उत्खनन गरिएको थियो। सोही क्षेत्रलाई ‘देवशिला उद्यान’का रूपमा विकास गर्ने योजना अघि बढाइएकाले सङ्घीय र प्रदेश सरकारले फोहर व्यवस्थापन स्थल हटाउनुपर्ने सर्त राखेको नगरपालिकाले जनाएको छ।

ल्याण्डफिल साइटको स्थायी विकल्प नखोजिएसम्म दुर्गन्ध नियन्त्रणका लागि औषधि, चुना र माटो नियमित प्रयोग गर्न स्थानीयले माग गरेका छन्। हाल फोहर फाल्ने स्थानमा टहरा निर्माण गरी नकुहिने फोहर छुट्याएर कवाडीमा बिक्री गर्ने व्यवस्था गरिएको छ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले कालीगण्डकी नदी हिन्दू धार्मिक आस्था, जैविक विविधता र प्राकृतिक सम्पदासँग जोडिएको महत्वपूर्ण नदी भएकाले यसको संरक्षणका लागि वैज्ञानिक र दिगो फोहर व्यवस्थापनको विकल्प तत्काल खोज्नुपर्ने आवश्यकता औँल्याए ।